२४ जेष्ठ २०८२, शुक्रबार | June 6, 2025

कथावाचनको शक्तिबाट युवाको मानसिक स्वास्थ्यबारे संवाद गर्ने अभियान


415
Shares

सिड्नीअष्ट्रेलिया — अष्ट्रेलियामा रहेका दक्षिण एसियाली युवाहरूमा तीव्र रूपमा बढ्दो मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न, सिड्नीस्थित मिडिया र प्रोडक्सन हाउस Mauri-E ले नयाँ सांस्कृतिक अभियान “Mind Matters: परिवर्तनको लागि सिनेमा को सुरुआत घोषणा गरेको छ । एक यस्तो अभियान जसले मानसिक स्वास्थ्यको विषयमा मौनता तोड्न कथा  सिनेमा को उपचारात्मक शक्तिको प्रयोग गर्छ ।

२० जुनदेखि ११ सेप्टेम्बर २०२५ सम्म सञ्चालन हुने यो बहुचरणीय अभियानले प्रायः आप्रवासी समुदायमा नबोलिने मानसिक स्वास्थ्यका विषयमा खुला संवादको अवसर सिर्जना गर्न खोज्दछ ।  विशेषतः नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी र युवाहरूका लागि, जो आफ्नो पहिचान, पारिवारिक अपेक्षा र एक्लोपनको बीच संघर्ष गरिरहेका हुन्छन् ।

“मानसिक स्वास्थ्य केवल फुसफुसमा सीमित हुनु हुँदैन । यसलाई अभिव्यक्ति, सहानुभूति र दृश्यता चाहिन्छ । यही उद्देश्यले यो अभियानले फिल्मको माध्यम रोजेको हो,”  सरोज विष्मा बस्नेत, संस्थापक सीईओ/क्रिएटिभ डाइरेक्टरले भने ।

यस अभियानमा मौलिक सर्ट फिल्महरू, दुई संसार बीचअपेक्षाको अदृश्य दबाब नामक डकुमेन्ट्री, अन्तरक्रियात्मक प्यानलहरू, डिजिटल मिडिया सामग्री र समुदाय-आधारित कार्यक्रमहरू समावेश हुने बताइएके छ ।  सबै कार्यक्रम युवाहरूका लागि  युवाहरूको सहकार्यमा निर्माण हुनेछन् । Mind Matters को केन्द्रमा युवाहरूका आवाजलाई देखाउने, सुन्ने र बुझ्ने अवसर प्रदान गर्ने उद्देश्य छ ।

अभियानको पहिलो प्रमुख कार्यक्रम — “CineCause” नामक सफ्ट-लन्च — २० जुन २०२५ मा Maya Lounge, सिड्नी मा आयोजना गरिनेछ। Maya Lounge ले न केवल आफ्नो स्थान उपलब्ध गराएको छ, तर यो अभियानको दृष्टिलाई खुलेर समर्थन गर्दै गहिरो सहयोग प्रस्तुत गरेको छ ।

“हामी Maya Lounge प्रति अत्यन्तै आभारी छौं । उनीहरूको न्यानो सहयोग र आतिथ्यले यस परिकल्पनालाई वास्तविकता बनाउने मार्ग प्रशस्त गरेको छ,” — अर्पण केशर खनाल, सह-संस्थापक सीओओ / परियोजना प्रमुखले भने ।

उद्घाटन कार्यक्रममा TEJ-US नामक सर्ट फिल्मको प्रिमियर हुनेछ, जुन Dissociative Identity Disorder (DID) जस्तो कम छलफल भएको मानसिक समस्यामाथि आधारित छ । त्यसपछि प्रमुख वक्ताको सम्बोधन र अभियानका कार्यक्रमहरू तथा मर्चेन्डाइज सार्वजनिक गरिने बताइएको छ ।

समुदायको सहभागितालाई केन्द्रमा राखेर डिजाइन गरिएको यो अभियान नेपालसम्म पनि विस्तार हुने बताइएको छ । जहाँ स्थानीय विद्यालय, कलेज, मिडिया र सांस्कृतिक संस्थाहरूसँग सहकार्य गर्दै गहिरिएको मानसिक स्वास्थ्य कलङ्कबारे चेतना फैलाइने बताइएको छ ।

“हामी सिमानाहरू पार गरेर युवाहरूले आफू देखिएको, सुन्ने अवसर पाएको, र साथ पाएको महसुस गरून् भन्ने चाहन्छौं,” — शैल दाहाल, Blueprint Migration का सीईओ तथा अभियान सहयोग कार्यकारीले भने ।

यस अभियानमार्फत Mauri-E ले केवल मानसिक स्वास्थ्य सम्बन्धी मौनता तोड्ने मात्र होइन, सहानुभूति फैलाउनेसांस्कृतिक रूपान्तरण गर्ने पुस्ता तथा भूगोलबीच पुल निर्माण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया