आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द !
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, तोडफोड र जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका क्रममा प्रहरीद्वारा गरिएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने निर्णय गरेको हो ।
साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा। प्रमोद राम लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण हुनुका साथै अस्पताल परिसरमा तोडफोड भएको थियो। टाउकोमा गम्भीर चोट लागेका डा। राम उपचाररत छन्।
घटनाका दोषीहरूमाथि कानुन बमोजिम कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा भइरहेको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी ९सिडिओ० को उपस्थितिमा प्रहरी प्रमुखले प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा नारायणी शाखा अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको संघको आरोप छ। चिकित्सक संघले घटनाको भर्त्सना गरेको छ।



