१८ पुस २०८१, बिहिबार | January 3, 2025

मंसिर बन्यो बिदेसिनेको रेकर्ड महिना


December 29, 2024
166
Shares

काठमाडौं,१४ पुस । मुलुकमा रोजगारी र व्यवसायको सुरक्षाको साथै आवश्यक आम्दानीको जोहो नभएपछि बिदेसिनेको संख्यामा रेकर्ड कायम भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार ५ महिनाको अन्तरालमा ३ लाख २५ हजार ८ सय ९ जना नेपाली कामका लागि वैदेशिक रोजगारीमा गएका छन् । गत वर्षको पहिलो पाँच महिनामा भने २ लाख ७४ हजार ५ सय १७ जना मात्र वैदेशिक रोजगारीमा गएका थिए ।

सामान्यतया महिनामा ६०–७० हजार जना मात्र बिदेसिने गरेको तथ्यांक रहेकामा मंसिरमा रेकर्ड कायम गर्दै एकै महिनामा ८४ हजार २२६ जना वैदेशिक रोजगारीमा गएका छन् । गत वर्षको मंसिरमा ६८ हजार २ सय १ जना वैदेशिक रोजगारीमा गएका थिए ।

विभागका अनुसार साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५७ हजार ४९३ बिदेसिएका थिए । यसैगरी, असोजमा ५३ हजार ५ सय २५ र कात्तिकमा ७० हजार ९ सय ९० जना बिदेसिएका थिए ।

गत वर्षको साउनमा ५५ हजार ५ सय ७५ र भदौमा ५० हजार ८ सय ८४ बिदेसिएका थिए । यसैगरी, गत वर्षको असोजमा ५६ हजार २ सय ३५ र कात्तिकमा ४३ हजार ६ सय २२ बिदेसिएका थिए ।

यसपालिको मंसिर महिना रेकर्ड कायम हुनुको कारण यो अहिलेसम्मको अधिक हो । यसअघि २०७९ कात्तिकमा ७८ हजार ३ सय ७० बिदेसिएका रेकर्ड थियो ।

विभागको तथ्यांकअनुसार ८४ हजार बिदेसिँदा मंसिर महिनामा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जान २८ हजार ८ सय ६८ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । ४२ हजार ९ सय ६ जना नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका हुन् । बिदेसिएकामध्ये अदक्ष कर्मचारीका रूपमा २१ हजार ७ सय १६ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये २ हजार ३ सय ४० महिला छन् ।

त्यस्तै, बिदामा आएर पुन: फर्किनका लागि ४१ हजार ३ सय २० जनाले श्रम स्वीकृति लिएका छन् । साथै व्यक्तिगत भिसा आएपछि अन्तिम श्रम स्वीकृति लिनेको संख्या १३ हजार ५९ छ भने जीटूजीमार्फत ९ सय ७९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

मंसिर महिनामा यूएईमा सबैभन्दा धेरै नेपाली कामदार गएका छन् । मंसिरमा २४ हजार ७६९ जना नेपाली कामदार गएको तथ्यांकमा उल्लेख छ । यसैगरी, साउदी अरबमा १८ हजार १ सय १५ र कतारमा १४ हजार ८ सय ४४ जना नेपाली कामदार गएका छन् ।

मलेसियामा भने जानेको संख्या घट्दो रहेको छ । मलेसियामा मंसिरमा मात्र ४ हजार ४ सय ६९ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतमा ६ हजार ६ सय ९०, जापान २ हजार ३ सय ७१ र कोरियाका लागि १ हजार २ सय २५ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ ।

मंसिरमा बिदेसिनेमध्ये सिराहाका ३ हजार २ सय ९३, सर्लाही २ हजार ४ सय ५४, रुपन्देही २ हजार ६ सय ५४, सुनसरी २ हजार ७ सय ५३, स्याङ्जा १ हजार ७ सय ८० र मनाङका १५ जना छन् । विभागको रेकर्डअनुसार धनुषाका ४ हजार ३ सय ७३ जना बिदेसिएका छन् ।

मंसिरमा व्यक्तिगत र संस्था गरी ७० हजार ५ सय पुरुष र १३ हजार ४ सय ३३ जना महिला वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

मंसिरमा ८३ हजार ९ सय ३३ जना नेपाली वैदेशिक राजेगारीमा जाँदा सीप सिकेर ५३ हजार १ सय ५८ जना गएका छन् भने २१ हजार ७ सय १६ जना अदक्ष कामदार बाहिरिएका छन् । सो अवधिमा ८ हजार ७ सय ८० जना अर्धदक्ष कामदार बाहिरिएका छन् ।

विज्ञता हासिल गरेका ७ सय ७० जना बाहिरिँदा उच्च दक्ष कामदार भने १ सय २ जना बाहिरिएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया