१४ माघ २०८१, सोमबार | January 27, 2025

कहिले तोक्लान् देउवाले उत्तराधिकारी ?


December 26, 2024
498
Shares

काठमाडौं,११ पुस। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो १५औं महाधिवेशनका लागि आफ्नो उत्तराधिकारी नतोक्दा संस्थापन समूहका नेताहरू अन्योलमा परेका छन् । नेपाली कांग्रेसको विधानअनुसार पार्टी सभापति दुईपटक मात्रै हुन पाउने व्यवस्था छ । देउवा दुईपटक पार्टी सभापति भइसकेका छन् । देउवाले आफ्नो दोस्रो कार्यकालको ४ वर्षको अवधिको अन्त्यतिर आइपुग्दा पनि उत्तराधिकारी को हो भनेर खुलाएका छैनन् ।

विराटनगरमा केही समयअघि सञ्चारकर्मीले सोधेको अबको उत्तराधिकारी को हो भन्ने प्रश्नमा देउवाले ‘मैले घोषणा गर्ने होइन, महाधिवेशनले गर्छ’ भनेर जवाफ दिएका थिए । देउवाले दिएको सो जवाफले उनी अहिले जोडघटाउमा रहेको बुझिन्छ । आफ्नो पक्ष बलियो भएपछि कसलाई सभापति बनाउने भन्नेमा उनले निर्णय लिनेछन् ।

सभापतिका लागि कांग्रेसमा हाल उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंह सभापतिका प्रबल दाबेदार हुन् । तीन जनामध्ये देउवाले एक जनालाई उम्मेदवारका लागि अगाडि सार्न सक्नेछन् । तीनै नेताले आ–आफ्नो दाबी गरिरहेको भए पनि देउवाले सभापतिमा कसलाई अगाडि सार्छन् रु भन्न सक्ने अवस्था छैन । त्यसो त १४औं महाधिवेशनमा देउवाको प्यानलबाट उपसभापति जितेका खड्कामा आफू स्वतः सभापतिको दाबेदार भएको बुझाइ छ ।

त्यस्तै, १४औं महाधिवेशनमा देउवालाई काउन्टर दिनका लागि सभापतिमा उठेका निधिले अन्तिम समयमा आएर सभापतिमा देउवालाई समर्थन गरेका थिए । १३औं महाधिवेशनमा सभापति देउवाले उनलाई उपसभापतिमा मनोनयन गरेका थिए । यसअघि संस्थापनमै रहेका निधि यसपटक भने देउवाको समर्थनमा पार्टी सभापति उठ्ने तयारीमा छन् । अघिल्लोपटक सभापतिमा देउवालाई समर्थन गरेको गुन देउवाले तिर्छन् भन्ने बुझाइ नेता निधिको छ । राजनीतिक विरासत बोकेको परिवार भएको भन्दै निधिले यसपटक सभापतिमा आफूलाई समर्थन गर्नका लागि दबाब दिनेछन् ।

त्यस्तै, संस्थापनबाट सभापतिका आकांक्षी हुन् प्रकाशमान सिंह । हाल उपप्रधान तथा सहरी विकासमन्त्री रहेका सिंह यसपटक सभापतिका लागि अरूलाई नछाड्ने पक्षमा छन् । १४औं महाधिवेशनमा दोस्रो चरणको सभापतिमा देउवालाई समर्थन गर्दै उनले मतदान गरेका थिए । सभापतिको दोस्रो चरणको निर्वाचन हुने भएपछि देउवा प्रकाशमान सिंह निवासमै पुगेर समर्थन मागेका थिए । लामो राजनीतिक विरासत बोकेका परिवारका सिंह यसपटक देउवाको समर्थन आफूलाई हुनेमा ढुक्क छन् । त्यसो त देउवाले आफूलाई सभापति बनाउन भूमिका खेलेको भन्दै सिंहलाई उपप्रधान तथा सहरी विकासमन्त्री बनाउन भूमिका खेले । हाल सिंहकै नेतृत्वमा कांग्रेस सरकारमा छ ।

देउवा भने तत्काल मुख खोल्ने पक्षमा छैनन् । संस्थापनइतर समूहबाट शेखर कोइरालाले १५औं महाधिवेशन केन्द्रित गर्दै विभिन्न ठाउँमा भेला र सम्मेलन गर्दै दबाब बढाइरहेकाले पनि देउवा मौन छन् । देउवा पर्ख र हेरको रणनीतिमा रहेको कांग्रेसका एक नेताले बताए । ‘सभापतिले अहिले नै उत्तराधिकारी तोक्दा संस्थापनइतर समूहलाई आफ्नो रणनीति बनाउन सजिलो हुने भएकाले पनि केही बोल्नुभएको छैन,’ कांग्रेस संस्थापन पक्षका एक नेताले राजधानीसँग भने, ‘महाधिवेशनको समय आएपछि मात्रै सभापति देउवा मुख खोल्ने पक्षमा छन् ।’

अहिलेको अवस्थामा हेर्दा देउवाको केन्द्र, प्रदेश, जिल्ला सबैतिर बलियो पकड छ । आजको दिनसम्मको अवस्थालाई हेर्दा सभापति देउवाले जसलाई समर्थन गर्छन्, उनै व्यक्ति सभापतिमा चुनिने सम्भावना छ । देउवा अहिले आफ्नो पकड भएकै अवस्थामा बलियो शक्तिमार्फत सदस्यता वितरण, क्षेत्र र जिल्लाको अधिवेशनमा वर्चस्व स्थापित गर्ने दाउमा छन् । बलियो अवस्थामा रहेका बेला महाधिवेशन प्रतिनिधि छान्दा सहज हुने देउवाको बुझाइ छ ।

शेखर कोइराला समूहले समयमै महाधिवेशन गर्नुपर्छ भनेर दबाब बढाइरहेका बेला देउवा भने प्रधानमन्त्री भएपछि मात्रै १५औं महाधिवेशन गर्ने दाउमा छन् । त्यसैले, अहिले देउवाले महाधिवेशन कहिले हुन्छ भनेर मुख खोलेका छैनन् । आफू प्रधानमन्त्री भएका बेलामा महाधिवेशन गर्दा नेता व्यवस्थापन हुने, समूहलाई एक ठाउँमा राख्न सकिने उनको बुझाइ छ ।

त्यसो त युवाहरूमाझ लोकप्रिय रहेका महामन्त्री गगनकुमार थापा पनि अबको सभापतिको बलिया दाबेदार हुन् । १४औं महाधिवेशनमा संस्थापनइतर शेखर समूहबाट महामन्त्रीमा विजयी भएका थापाले सभापतिका लागि आफ्नो रणनीति बदलेका छन् । उनले केही समयअघिदेखि कांग्रेसमा अब गुटबन्दी आवश्यक नभएको भन्दै भाषण गर्दै आएका छन् । उनी आगामी महाधिवेशनमा देउवाको पनि समर्थन लिएर सभापति उम्मेदवार बन्ने दाउमा छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया