३ कार्तिक २०८१, शनिबार | October 19, 2024

सिमेन्ट निर्यात ४ सय प्रतिशतले वृद्धि


249
Shares

काठमाडौँ, असार २३ गते । देशबाट अधिकांश वस्तुुको निर्यात घटिरहेको बेला सिमेन्ट र क्लिङ्करको निर्यात भने ४८४ प्रतिशतले वृद्धि भएको छ । स्थानीय बजारमा सिमेन्टको खपत न्यून हुुँदा निर्यातमा उलेख्य वृद्धि भएको हो । चालुु आर्थिक वर्षको ११ महिनामा साढे तीन अर्ब रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठ महिनासम्म तीन अर्ब ६५ करोड ७१ लाख ६१ हजार रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको हो ।

११ महिनामा एक अर्ब ८३ करोड ४६ लाख ८९ हजार रुपियाँको सिमेन्ट र एक अर्ब ८२ करोड ४५ लाख ७१ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको छ । गत वर्ष सो अवधिमा ३१ करोड ३६ लाख ४२ हजार रुपियाँ बराबरको सिमेन्ट निर्यात भएको थियो । चालुु आवको ११ महिनामा एक अर्ब ८२ करोड ४६ लाख ८९ हजार रुपियाँको क्लिङ्कर निर्यात भएका छन् । गत वर्ष सो अवधिमा ३६ करोड ४० लाख ११ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको थियो ।

आर्थिक गतिविधि न्यून भई माग घट्दा १५ देखि २० वटा सिमेन्ट उद्योग बन्द, ३० देखि ३५ प्रतिशतले उत्पादनमा कमी
सरकारले गत आवको बजेटमार्फत सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुुदानको व्यवस्था गरेसँगै निर्यातमा उलेख्य वृद्धि भएको हो । देशको समग्र निर्यात निराशाजनक रहेका बेला सिमेन्ट र क्लिङ्करको बढ्दो निर्यातले आशा जगाएको छ । सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले आन्तरिक बजारमा खपत न्यून हुँदा सस्तो मूल्यमा निर्यात गरेकाले निर्यातमा वृद्धि भएको जानकारी दिनुभयो ।

“आन्तरिक बजारमा ३५ प्रतिशत मात्र सिमेन्ट खपत हुने गरेको छ,” उहाँले भन्नुभयो, “आर्थिक गतिविधि न्यून भई माग घट्दा १५ देखि २० वटा सिमेन्ट उद्योग बन्द रहेका छन् ।” सिमेन्टको उत्पादनमा ३० देखि ३५ प्रतिशत कमी आएको उहाँको भनाइ छ ।

आर्थिक सङ्कटका कारण पछिल्लो समय मुलुकमा नयाँ घरसमेत निर्माण भएका छैनन् । सरकारले विकास बजेट राम्ररी खर्च गर्न नसक्दा पनि सिमेन्टको खपत प्रभावित भएको र जसको कारणले गर्दा पनि बजारमा सिमेन्टको माग घट्दै गएको व्यवसायीको भनाइ छ ।

सङ्घको तथ्याङ्क अनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन् । क्षमता अनुसार चल्न नसक्दा १५ देखि २० सिमेन्ट उद्योग बन्द रहेको र अन्य उद्योग पनि बन्द हुने अवस्थामा रहेको व्यवसायीको भनाइ छ । सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुने र बन्द हुन थालेपछि त्यसमा काम गर्नेको रोजगारीसमेत गुम्ने गरेको छ । देशमा आत्मनिर्भर रहेको सिमेन्ट उद्योग आर्थिक सङ्कटका कारण पूर्ण क्षमतामा सञ्चालन हुुन सकेको छैन । नेपालबाट सिमेन्ट तथा क्लिङ्कर भारतमा निर्यात भइरहेको छ । हाल पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सिजी, बालाजी, बाहुबली र सृष्टि ब्रान्डका नेपाली सिमेन्ट बेहलिया, भैरहवा, नेपालगन्ज नाकाबाट बढी मात्रामा भारतीय बजारमा बिक्री भइरहेका छन् ।

साढे छ अर्बको प्लाइउड निर्यात

यसैबिच चालुु आवको ११ महिनामा मुलुकबाट साढे छ अर्ब रुपियाँ बराबरको प्लाइउड निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म छ अर्ब ६८ करोड तीन लाख ४९ हजार रुपियाँको प्लाइउड निर्यात भएको छ । गत वर्ष सो अवधिमा चार अर्ब १६ करोड ९७ लाख २४ हजार रुपियाँको प्लाइउड निर्यात भएको थियो । छिमेकी मुलुक भारतमा प्लाइउड निर्यात हुने गर्छ । गोरखापत्र

प्रतिक्रिया