सर्वोच्चले आज छायादेवी सेन्टर विवादको फैसला सुनाउने
काठमाडौं,२४ मंसिर । सर्वोच्च अदालतले छायादेवी सेन्टरको विवादसम्बन्धी मुद्दाको फैसला सोमबार ९आज० सुनाउने भएको छ । एक दशकदेखि सर्वोच्च अदालतमा रहेको मुद्दाको सुुनुवाइ पूरा भएसँगै आज (२४ मंसिरमा) निर्णय सुनाउन लागेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको सो मुद्दामा १७ मंसिरमा दुवै पक्षले लिखित बहस नोट पेस गरेपछि फैसला गर्न लागेको हो । लामो समयदेखि छायादेवी सेन्टर बनेको जग्गा गुठीको कि व्यक्तिको भन्ने विवाद अबको दुई सातापछि निरूपण हुनेछ । सर्वोच्चको फैसलाअघि ठमेलका स्थानीय र सम्पदा संरक्षण समाजले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
लिच्छविकालीन सम्पदा, इतिहास मेटाएर व्यापारिक भवन छायादेवी कम्प्लेक्स बनाउने कार्यमा संलग्नलाई कारबाही गर्दै सो सम्पदा पुनः सरकारको स्वामित्वमा ल्याउनसमेत माग गरिएको छ । प्रदर्शनकारीहरूले ‘छायादेवी कम्प्लेक्स बहिष्कार गरौं’, ‘कमलपोखरी पुनस्र्थापित गरौं’, ‘सम्पदा संरक्षण अभियानमा सबै नेपाली एक हौं’लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
काठमाडौंको ठमेलस्थित कमलपोखरी ९छायादेवी कम्प्लेक्स० सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएकाले भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरी श्रेष्ठलगायत १५ थान मुद्दा सर्वोच्चमा परेको थियो ।
बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवान् बहालअगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेका नाममा व्यापारिक कम्प्लेक्स बनाएका थिए । अदालतले सबै मुद्दा एकसाथ राखेर हेरिरहेको छ । सो पोखरी रहेको जग्गा १२ रोपनी १३ आना रहेको छ । ९ वर्षदेखि १४ पटक हेर्न नमिल्ने, पाँचपटक हेर्न नभ्याउने र पटकपटक स्थगित हुँदै आएको सो विवादसम्बन्धी मुद्दा अदालतले २२ माघ २०८० देखि सुनुवाइ सुरु गरेको थियो ।
यस मुद्दामा २० माघ २०८० मा प्रधानन्याधीश प्रकाशमानसिंह राउत र डा। कुमार चुडालको संयुक्त इजलासले मालपोत, नापी र गुठी संस्थानसँग कागजात पेस गर्न आदेश दिएको थियो । त्यसपछि २ भदौ २०८१ मा न्यायाधीश विनोद शर्मा र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी चढे पनि हेर्न नमिल्नेमा प¥यो ।
१७ भदौ २०८१ मा न्यायाधीश अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले मालपोत कार्यालय र नापीबाट भएको निर्णयको फाइल माग्ने आदेश भयो । सो फाइल अदालतमा पेस भएपछि गत ७ कात्तिकबाट न्यायाधीश सारंगा सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा यस मुद्दामा निरन्तर सुनुवाइ सुरु भएको हो ।
यस प्रकरणमा हालको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमन पाण्डे जोडिएका छन् । पाण्डेले यसअघि पहुँचका आधारमा सो कम्प्लेक्सको विषयमा ढाकछोप गर्दै आइरहेका थिए । यस कम्प्लेक्समा सुरुमा ४३ जनाको लगानी रहेकामा हाल अधिकांशले बेचेर १७ जनामा आइपुगेका छन् । धेरैले कम्प्लेक्समा गरेको लगानी उठाइसकेका छन् ।
सो जग्गा सर्वोच्चले गुठीकै नाममा हुने आदेश भए लगानी गर्ने अधिकांश व्यक्ति उम्कने र कम्प्लेक्सको सटर किन्नेलाई भने मर्का पर्ने देखिन्छ । सर्वोच्चमा मुद्दा परेपछि धेरै लगानीकर्ताले आफ्नो सेयर बेचबिखनसमेत गरिसकेको स्रोतले बतायो । राजधानी दैनिकबाट