कांग्रेस इतर समूहको काठमाडौं कमान्ड महर्जनलाई, ९ क्षेत्रमा संयोजक तोकिए
काठमाडौं — नेपाली कांग्रेसको संस्थापन इतर समूहले आसन्न १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै काठमाडौं जिल्लाको संयोजकको जिम्मेवारी युवा नेता जयकृष्ण महर्जनलाई दिएको छ।
शुक्रबार काठमाडौंको क्षेत्रपाटीस्थित एक पार्टी प्यालेसमा बसेको इतर समूहको भेलाले महर्जनलाई जिल्ला संयोजक तोक्दै काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ९ वटा क्षेत्रमा समेत संयोजकको जिम्मेवारी बाँडफाँट गरेको हो।
केन्द्रीय प्रतिनिधि कल्याणी रिजालको उपस्थितिमा बसेको भेलाले काठमाडौं–९ का क्षेत्रीय सभापति महर्जनलाई जिल्लाको समग्र समन्वय गर्ने जिम्मेवारी दिएको हो।
विद्यार्थी राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा सक्रिय महर्जन नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा शंकरदेव क्याम्पसका पूर्व स्ववियु सभापति हुन्। उनी काठमाडौं–९ मा दोस्रो कार्यकालका लागि क्षेत्रीय सभापतिको जिम्मेवारीमा छन्।
जिल्ला संयोजकको जिम्मेवारी पाएसँगै अब काठमाडौंमा संस्थापन इतर समूहको महाधिवेशन तयारी, अधिवेशन समन्वय र संगठन परिचालनको महत्वपूर्ण जिम्मेवारी महर्जनको काँधमा आएको छ।
काठमाडौंका ९ क्षेत्रमा संयोजक
भेलाले काठमाडौंका १० मध्ये ९ निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ।
जसअनुसार—
काठमाडौं–१ : कुश ढकाल
काठमाडौं–२ : अर्जुन पराजुली
काठमाडौं–३ : लालु लामा
काठमाडौं–४ : सन्तोष भण्डारी
काठमाडौं–५ : श्यामकृष्ण खड्का
काठमाडौं–६ : श्याम खड्गी
काठमाडौं–७ : मनहरि तिवारी
काठमाडौं–८ : टेवेन्द्ररत्न शाक्य
काठमाडौं–१० : शैलेश मानन्धर
मध्ये क्षेत्र नम्बर १ का कुश ढकाल काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष हुन् भने क्षेत्र नम्बर ५ र ६ मा क्रमशः क्षेत्रीय सभापति श्यामकृष्ण खड्का र श्याम खड्गीलाई संयोजक बनाइएको छ।
महर्जनकै क्षेत्रमा संयोजक भने पछि
काठमाडौं जिल्ला संयोजक बनेका महर्जन आफैं काठमाडौं–९ का क्षेत्रीय सभापति रहेकाले क्षेत्र नम्बर ९ को संयोजक भने पछि तोकिने इतर समूहले जनाएको छ।
यससँगै महर्जनले जिल्लाको जिम्मेवारी सम्हाल्दै आफ्नै निर्वाचन क्षेत्रमा समेत पार्टीको अधिवेशन प्रक्रियालाई समन्वय गर्नुपर्ने अवस्था बनेको छ।
नेता प्रकाशमान सिंहको सचिवालयका अनुसार भेलाले जिल्ला र क्षेत्रीय संयोजक तोक्दै १५औँ महाधिवेशनको तयारीलाई थप व्यवस्थित बनाउने निर्णय गरेको हो।
समूहले आगामी असोज १५ गते वडा अधिवेशन गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ।
काठमाडौंमा संस्थापन इतर समूहको संगठनात्मक तयारी तीव्र भइरहेका बेला जिल्ला संयोजकको जिम्मेवारी जयकृष्ण महर्जनलाई दिइनुलाई काठमाडौंको अधिवेशन प्रक्रियामा उनको भूमिकालाई केन्द्रमा राखिएको संकेतका रूपमा हेरिएको छ।


