पूर्व सभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा
काठमाडौं,३ मंसिर । प्रतिनिधिसभाका पूर्व सभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज सरकारले आज सार्वजनिक बिदा दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
ढुंगानाको आज राष्ट्रिय सम्मानका साथ पशुपतिमा अन्त्येष्टि गरिने पनि बैठकले निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । साथै ढुंगानाको निधनको शोकमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाइने छ ।
तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका पूर्व सभामुख दमननाथ ढुङ्गानाको ८३ वर्षको उमेरमा उपचारको क्रममा राजधानीको फ्रन्ट लाइन अस्पतालमा निधन भएको हो ।
कलेजो सम्बन्धी समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।