१७ आश्विन २०८१, बिहिबार | October 3, 2024

देश डुबानमा,प्रधानमन्त्री घुमघाममा : विश्लेषक रायमाझी


September 30, 2024
8k
Shares

प्रकाश रायमाझी । देशभरी बाढी पहिरो, भीषण वर्षा प्राकृतिक प्रकोपबाट उत्पन्न जटिल परिस्थितिमा जुधिरहेका नागरिकहरूले असाय महसुस गरिरहेका छन् । राज्य बेखबर छ । कार्यकारी प्रधानमन्त्री श्रीमती र धर्मपुत्र अमेरिकामा घुमाउन व्यस्त छन् । यता बिचौलिया र व्यापारीले बनाएको गृहमन्त्री सहकारी प्रकरणको नाटकमा व्यस्त छन् ।

कार्यबाहक प्रधानमन्त्रीलाई आफ्नै परिवारको औषधी मुलो गर्न‌ भ्याइ नभ्याइ छ । यो आपतमा विपत व्यवस्थापनमा गर्न यो सरकार पूर्ण रुपमा असफल भएको छ । निकम्मा प्रशासक अझ बढी दोषी छन् । बाढी पहिरो डुबान प्रभावितहरूलाई राहत तथा उद्धार कार्यका नाउँमा जथाभावी चन्दा संकलन गर्ने र दलका भातृ संगठनहरूले दशैँ खर्च उठाउने कार्य रोक्न सरकारले तत्काल कदम चालोस् ।

बैंकिङ क्षेत्र, व्यापारी तथा चन्दादाताले पनि राहतकोषमा रकम दिँदा थोत्रा प्रधानमन्त्री, मन्त्री आदिसँगको तस्बिर आदि पोष्ट नगर्न अनुरोध गर्छौं । यो बेला दलाल मन्त्रीहरूको फोटोमा टाँसिएर राजनीति गर्ने बेला होइन् । नालायक निकम्मा सरकारका मन्त्रीहरुलाई अनुगमन तथा निरीक्षणका नाममा आउँदा जनताले लखेट्नुपर्छ ।

असावधानी गैर जिम्मेवारीको कारणले जनधनको अपूर्णिय क्षति भएको छ । कार्यकारी प्रधानमन्त्री कानमा तेल हालेर बसेका छन् । स्वदेश फर्कँदा विमानस्थलबाटै उनलाई राजीनामाको निमित्त दबाब दिनुपर्छ । थोत्रा भाषण अर्ति सञ्चार माध्यमहरूमा पनि नदेखाउन हामी आग्रह गर्दछौं । देशभक्त नेपाली जनताहरू आफ्नो घाउमा आफै मलम लगाउन सामर्थ छन् । दलि दलीय संकीर्णताको गुटबन्दीबाट राहत तथा उद्धार कार्यमा भेदभावपूर्ण व्यवहार भएमा अब हामी ती भ्रष्ट प्रशासकहरुलाई पनि क्षमा गर्ने छैनौँ ।

राष्ट्रको विपतको घडीमा दलीय संकीर्णता र दलगत स्वार्थभन्दा माथि उठेर हामी नेपालीहरू एकजुट भएर यो समस्याको समाधान गर्नुपर्छ । यस्तो विषम परिस्थितिमा आदेश कुर्ने र पर्खिने होइन । हरेक देशभक्त नागरिकले पनि बुद्धि र ब्रह्मले उद्धार कार्यमा मन वचन कर्मले आफ्नो–आफ्नो क्षेत्रबाट खटिनुपर्छ ‌। उद्धार कार्यमा अहोरात्र जीवनको प्रवाह नगरी खटिरहेका सुरक्षाकर्मीप्रति धन्यवाद पनि दिनुपर्छ । तर बिलम्बताको प्रश्न पनि उठेकै छ ।

कथित सरकारको आदेशको पर्खाइमा । देशले धेरै ठूलो मूल्य चुकाउनुपर्यो।कथित राष्ट्रघाती नेताहरूको कसैले पनि समर्थन वा जय जयकार गरेमा नागरिकले अब प्रतिकार गर्नेछन्।
(रायमाझी राजनीतिक विश्लेषक हुन् ।)

प्रतिक्रिया