७ आश्विन २०८३, बुधबार | September 23, 2026

सार्वजनिक सरोकारका मुद्दामा सक्रिय अधिवक्ता पौडेल कांग्रेस महाधिवेशन प्रतिनिधिको दौडमा


September 23, 2026
0
Shares

बुवाको राजनीतिक विरासत पछ्याउँदै रामचन्द्र पौडेल महाधिवेशन प्रतिनिधिको दौडमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि अधिवक्ता रामचन्द्र पौडेल महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएका छन्। तनहुँको भानु नगरपालिका–११ (साबिक रूपाकोट–४) बाट पेशागत विषयविज्ञतर्फ क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका पौडेल अब तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

कानुन व्यवसायमा दुई दशकभन्दा लामो अनुभव, सार्वजनिक सरोकारका विषयमा कानुनी हस्तक्षेप र लामो राजनीतिक सक्रियतालाई आफ्नो उम्मेदवारीको आधार बनाएका पौडेलको राजनीतिक यात्रा भने पारिवारिक पृष्ठभूमिसँग पनि जोडिएको छ।

रामचन्द्रका पिता हरि शर्मा पौडेल साबिक रूपाकोटका नेपाली कांग्रेसका सभापति थिए। त्यसअघि उनी वडाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका थिए। पार्टी राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय हरि शर्मा पौडेल स्थानीय समुदायमा सामाजिक अभियन्ताका रूपमा परिचित थिए।

विशेषगरी त्रिभुवन क्याम्पस स्थापनाका लागि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए। स्थानीय शैक्षिक पूर्वाधार निर्माणदेखि विकासका विभिन्न अभियानमा उनको संलग्नता रहेको थियो। त्यसैगरी कालिमाटी–कुन्छा सडक निर्माणका क्रममा संयोजकको जिम्मेवारी सम्हाल्दै सडक निर्माणमा समेत योगदान गरेका थिए।

बुवाको राजनीतिक सक्रियता र सामाजिक अभियानबाट प्रभावित रामचन्द्र पौडेल पनि कांग्रेसको राजनीतिमा जोडिएका हुन्। उनी २०४८ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताउँछन्। तत्कालीन माओवादी द्वन्द्वका कारण विस्थापित हुनुपरेको भए पनि उनले राजनीतिक सक्रियतालाई निरन्तरता दिए।

राजनीतिसँगै कानुन व्यवसायमा लामो यात्रा

पौडेल पछिल्लो २१ वर्षदेखि कानुन व्यवसायमा आबद्ध छन्। कानुन व्यवसायका क्रममा उनले सार्वजनिक सरोकारसँग जोडिएका विभिन्न विषयमा सर्वोच्च अदालतमा रिट तथा मुद्दामार्फत कानुनी हस्तक्षेप गर्दै आएका छन्।

२०६८ सालमा पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूले लिँदै आएका अनुचित तथा गैरकानुनी सुविधाविरुद्ध उनले मुद्दा दायर गरेका थिए। उक्त मुद्दापछि त्यस्ता सुविधा खारेज गर्ने आदेश आएको उनको भनाइ छ।

त्यसैगरी तत्कालीन समयमा प्रकाश दाहालले हिमाल आरोहणका लागि राज्यबाट लिएको भनिएको दुई करोड रुपैयाँसम्बन्धी विषयमा समेत उनले सार्वजनिक सरोकारको मुद्दा दायर गरेका थिए। त्यसमा पनि अदालतबाट आदेश भएको पौडेलले बताए।

राहदानी वितरण केन्द्रमा सीमित हुँदा सर्वसाधारणले भोग्नुपरेको समस्यालाई लिएर प्रत्येक जिल्लाबाट सहज रूपमा राहदानी प्राप्त गर्न सकिने व्यवस्था हुनुपर्ने मागसहित उनले रिट दायर गरेका थिए।

सार्वजनिक सम्पत्तिलाई स्थानीय निकायले आफूखुसी भाडामा लगाउन नहुने विषयमा समेत उनले कानुनी लडाइँ लडेका छन्। सार्वजनिक सम्पत्तिको संरक्षण र पारदर्शी उपयोगसँग सम्बन्धित उक्त विषयमा अदालतबाट आदेश आएको उनले बताए।

सार्वजनिक सरोकारका विषयमा लामो समयदेखि सक्रिय पौडेल अहिले निर्वाचित रूपमा सर्वोच्च अदालत बार एसोसिएसनका कोषाध्यक्षको जिम्मेवारीमा छन्।

बुवाको बाटोबाट कांग्रेसको राजनीतिसम्म

हरि शर्मा पौडेलको राजनीतिक तथा सामाजिक सक्रियताबाट हुर्किएका रामचन्द्रले आफ्नो राजनीतिक यात्रालाई पनि त्यही विरासतसँग जोडेर अघि बढाएका छन्।

बुवाले पार्टी संगठनसँगै शिक्षा, सडक तथा सामाजिक विकासका क्षेत्रमा योगदान दिएको स्मरण गर्दै पौडेलले आफू पनि सार्वजनिक जीवनमा कानुन र राजनीतिमार्फत योगदान गर्ने उद्देश्यले अघि बढिरहेको बताउने गरेका छन्।

यही पृष्ठभूमिमा पेशागत विषयविज्ञका रूपमा कांग्रेसको १५औँ महाधिवेशनमा प्रतिनिधि बन्ने उनको प्रयासलाई राजनीतिक विरासत, कानुनी अनुभव र सार्वजनिक सरोकारका मुद्दासँग जोडिएको उम्मेदवारीका रूपमा हेरिएको छ।

तनहुँ क्षेत्र नम्बर १ बाट पेशागत विषयविज्ञतर्फ महाधिवेशन प्रतिनिधिका लागि पौडेलको दाबेदारीसँगै कांग्रेसभित्र उनको उम्मेदवारीले चर्चा पाएको छ।

 

प्रतिक्रिया