७ आश्विन २०८३, बुधबार | September 23, 2026

बन्दीपुर कांग्रेस सभापतिमा परशुराम अधिकारी सर्वसम्मत


September 23, 2026
249
Shares

तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दीपुर गाउँपालिका कांग्रेस सभापतिमा परशुराम अधिकारी सर्वसम्मत चयन भएका छन्। लामो समयदेखि चल्दै आएको आन्तरिक सहमतिको प्रयासले अन्ततः निष्कर्ष पाएपछि अधिकारी निर्विरोध सभापति चयन भएका हुन्।

सभापतिका लागि अधिकारीसँगै कर्ण गुरुङ र श्यामलाल श्रेष्ठले पनि दाबी गर्दै आएका थिए। तीनै जनाबीच सहमति जुटाउन पटक–पटक छलफल भए पनि यसअघि ठोस निष्कर्ष निस्कन सकेको थिएन। अन्तिम चरणमा भएको सहमतिको प्रयासपछि भने अधिकारीको नाममा सहमति जुटेको हो।

बन्दीपुर कांग्रेसको सभापतिका लागि यसअघि राजु बानियाँ, इन्कन खनाल, नारायण खड्कालगायतका नामसमेत चर्चामा आएका थिए। पछिल्लो समय अधिकारी, गुरुङ र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिएपछि नेतृत्व चयनलाई लिएर बन्दीपुर कांग्रेसभित्र चासो बढेको थियो।

अन्ततः चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने अवस्था टार्दै सहमतिमार्फत अधिकारीलाई सभापति बनाइएको हो। यससँगै बन्दीपुर कांग्रेसमा पछिल्लो समय देखिएको नेतृत्व चयनसम्बन्धी अन्योल पनि तत्कालका लागि टुंगिएको छ।

महिला नेतृत्वको अवसर भने गुम्यो

बन्दीपुर कांग्रेसको नेतृत्व चयनको क्रममा महिला नेतृत्वको सम्भावना समेत चर्चामा आएको थियो। सभापतिका आकांक्षीमध्ये इन्कन खनाल एक्ली महिला दाबेदारका रूपमा रहेकी थिइन्।

महिला सभापति बनाउने विषयमा सहमति जुट्न सक्ने सम्भावना हुँदाहुँदै अन्ततः पुरुष नेतृत्वमै सहमति भएपछि बन्दीपुर कांग्रेसले महिला नेतृत्व स्थापित गर्ने अवसर गुमाएको टिप्पणी हुन थालेको छ।

कांग्रेसले पार्टीका विभिन्न तहमा समावेशी प्रतिनिधित्व र महिला सहभागितालाई प्राथमिकता दिँदै आएको अवस्थामा बन्दीपुरको नेतृत्व चयनलाई यस दृष्टिकोणबाट पनि हेरिएको छ।

अधिकारीको सर्वसम्मत चयनसँगै अब बन्दीपुर कांग्रेसले १५औँ महाधिवेशनका आगामी प्रक्रियामा सहमतिका आधारमा संगठन परिचालन गर्ने बाटो खुलेको छ।

प्रतिक्रिया