७ आश्विन २०८३, बुधबार | September 23, 2026

१४औँ अधिवेशनको सहकार्य टुट्यो, म्याग्दी कांग्रेसमा नयाँ समीकरणको खेल


September 23, 2026
1.5k
Shares

बेनी, म्याग्दी । नेपाली कांग्रेस म्याग्दीमा १४औँ महाधिवेशनदेखि १५औँ महाधिवेशनको तयारीसम्म आइपुग्दा आन्तरिक राजनीतिक समीकरणमा उल्लेख्य परिवर्तन देखिएको छ।

विशेषगरी बेनी नगरमा अघिल्लो अधिवेशनमा सहकार्य गरेका नेताहरूबीच अहिले नयाँ राजनीतिक ध्रुवीकरण र सहकार्यको अवस्था बनेको स्थानीय कांग्रेस कार्यकर्ताहरू बताउँछन्।

१४औँ अधिवेशनका क्रममा रवीन्द्र कार्की र मनोजकुमार कार्कीलगायतको सहकार्य बेनी नगरमा प्रभावशाली समीकरणका रूपमा देखिएको थियो। त्यसबेला बनेको समीकरणले नगर कांग्रेसको नेतृत्वमा महत्वपूर्ण भूमिका खेलेको थियो।

तर १५औँ अधिवेशनको तयारीसँगै उक्त समीकरणमा परिवर्तन आएको देखिन्छ। पछिल्लो समय मनोजकुमार कार्की शेरबहादुर देउवा पक्षसँग नजिकिँदै गएको, जबकि रवीन्द्र कार्की र रेशम बानियाँ पक्षबीच सहकार्य बढेको स्थानीय कांग्रेस कार्यकर्ताहरूको भनाइ छ।

रवीन्द्र कार्की
रवीन्द्र कार्की

यससँगै १४औँ अधिवेशनमा एउटै धारमा देखिएका कार्की समूहभित्रै नयाँ राजनीतिक दूरी देखिएको छ। एकातर्फ मनोजकुमार कार्कीको नयाँ राजनीतिक रणनीति अघि बढेको देखिन्छ भने अर्कोतर्फ रवीन्द्र कार्की–रेशम बानियाँको सहकार्य नयाँ समीकरणका रूपमा स्थापित हुँदै गएको स्थानीय कांग्रेस वृत्तमा चर्चा छ।
यस समीकरणले आगामी बेनी नगर सभापति तथा जिल्ला तहको नेतृत्व चयन मा समेत प्रभाव पार्न सक्ने देखिएको छ। वडा तहदेखि नगर र जिल्ला तहसम्म प्रतिनिधि तथा नेतृत्व चयनको प्रक्रिया अघि बढ्दै जाँदा दुवै धारले आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

मनोजकुमार कार्की
मनोजकुमार कार्की

म्याग्दी कांग्रेसको १५औँ अधिवेशन नजिकिँदै गर्दा बानियाँ–कार्की सहकार्य र मनोजकुमार कार्कीको नयाँ राजनीतिक धार बीचको प्रतिस्पर्धा तथा सम्भावित सहकार्यलाई स्थानीय कांग्रेस कार्यकर्ताहरूले चासोका साथ हेरेका छन्। यद्यपि अन्तिम शक्ति समीकरण भने अधिवेशनको क्रममा हुने छलफल, सहमति र प्रतिनिधिहरूको निर्णयबाट स्पष्ट हुने देखिन्छ।

१४औँ अधिवेशनमा बनेको समीकरणदेखि १५औँ अधिवेशनको तयारीसम्म आइपुग्दा देखिएको यो परिवर्तनले म्याग्दी कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ अध्याय सुरु भएको संकेत गरेको स्थानीय राजनीतिक वृत्तको बुझाइ छ।

प्रतिक्रिया