६ आश्विन २०८३, मंगलबार | September 22, 2026

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान


September 22, 2026
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ७ बजे कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूतसहित वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित जोन एफ। केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीहरूले उनको स्वागत गर्नेछन्।

न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन्। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले भ्रमण तथा महासभासम्बन्धी विषयमा उनलाई ब्रिफिङ गर्ने कार्यक्रम छ।

त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा उनी सहभागी हुनेछन्।

गुटेरेससँग भेटवार्ता, महासभामा नेपालको सम्बोधन

प्रधानमन्त्री शाहले असोज ८ गते (२४ सेप्टेम्बर) संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ।

महासचिव गुटेरेससँगको भेटपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन्। सम्बोधनका क्रममा नेपालको प्राथमिकता, अन्तर्राष्ट्रिय चासोका विषय तथा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको दृष्टिकोण राख्नेछन्।

असोज १० गते काठमाडौं फर्कने

महासभाका कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट दोहातर्फ प्रस्थान गर्नेछन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत र बिदाइ गर्नेछन्।

प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका रहेको छ।

चारदिने विदेश भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्नुका साथै संयुक्त राष्ट्रसंघका उच्च अधिकारी तथा विभिन्न मुलुकका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

प्रतिक्रिया