३१ भाद्र २०८१, सोमबार | September 17, 2024

धार्मिक संस्कृति संरक्षणको वैभव जोगाउन महाशिवरात्री प्रेरणाप्रद बनोस !


February 28, 2024
15.2k
Shares

प्रकाश रायमाझी । हाम्रो राष्ट्रिय पर्वको रुपमा हर्षोल्लास साथ मनाइने महाशिवरात्रीको विशेष अवसरमा सरकारको ध्यान यता पनि जाओस् । नेपाल वैदिक सनातन धर्म संस्कृतिको पावन तपभूमि हो ।

यहाँका देव, देवालयहरू, शिवालय, मन्दिरहरूमा महाशिवरात्रीको पूर्व सन्ध्याको पावन अवसरमा सरकारले गुठी संस्थान, महानगरपालिका, नगरपालिका र गाविस लगायतलाई परिचालन गरी रंगरोगन सरसफाई गर्ने व्यवस्था तत्काल गरोस् । दाताहरुले राखेको गुठी नष्ट भइसकेको छ । गुठी संस्थानले परम्परा पूजा पर्व चलाउन बन्द गरेको छ । गुठी संस्थान भू माफियाहरूको अड्डा बनेको छ,नाम मात्र गुठी संस्थान ।

हाम्रो पहिचान नै मठमन्दिर, कला, संस्कृति र धर्मसँग गाँसिएको छ । यहाँ राज्यबाट भूमिकर मालपोत आदिका नाउँमा अनेकौं शीर्षकमा पैसा उठाइन्छ तर पूजा प्रबन्ध मठ मन्दिर उपेक्षित भएको छ । यसको संरक्षण समर्थन गर्ने हाम्रो जिम्मेवारीबाट नागरिक समाज पनि अलग्गिन सक्दैन । हरेक नागरिकले पनि चासो राखेर आफ्ना घर छेउको मठ मन्दिर अनिवार्य स्थानीय समुदायसँग हातेमालो गरेर संरक्षण गरी जोगाउनु पर्ने हाम्रो जिम्मेवारी हो नै । अनेकौं धार्मिक संघ संस्थाहरू व्यवसायका लागि खुलेका छन् । तर निस्वार्थ भावले मठमन्दिर मूर्त अमूर्त सम्पदाको संरक्षणमा बेखबर छन् ।

आउँदो महाशिवरात्रीको अवसरमा मठ मन्दिरमा पूजा प्रबन्ध र सरसफाई रङ्गरोगन गर्नैपर्छ । यस्तै,जीवन पद्धतिसँग जोडिएका नदीनाला र पवित्र बागमती नदीमा दुर्गन्ध हटाउन सरकारले अभिलम्ब सुरु गरोस् । यस वर्षको महाशिवरात्रीमा दर्शनार्थीहरूले बागमती नदीको जललाई गङ्गाजलको रुपमा घरघरमा लैजान सकुन् श्रद्धालु भक्तहरुले । भारतबाट आउने तीर्थयात्रीहरूले पनि सहज र राम्रो व्यवस्थित तरिकाबाट भगवान पशुपतिनाथको दर्शन गर्न सकुन् । महाशिवरात्रीको अवसरमा कृत्रिमता र धार्मिक व्यवसायभन्दा पनि प्राचीन धार्मिक संस्कृतिको प्रवर्धन एवं संरक्षणको वैभवलाई जोगाउन शिवरात्री, महाशिवरात्री प्रेरणाप्रद बन्न सकोस् ।

यता पशुपतिनाथको मन्दिर परिसरभित्र राखिएका जथाभावी रेलिङबाट दर्शनार्थीलाई अवरोध भइरहेको छ । त्यति मात्र होइन मन्दिर परिसरमा रहेका सुरक्षाकर्मीहरूको भक्तजनहरूप्रतिको रुखो वचन र दुव्यवहारको तत्काल छानबिन गरी कारबाही गरियोस् । दर्शनार्थीहरूलाई त्यहाँ विभेदको वातावरण प्रत्यक्ष महसुस भएको छ । पाश्पात क्षेत्रमा म स्वयंले लामो जीवन सेवामा लगाएको हुँदा त्यहाँको वस्तुस्थिति बारेमा म परिचित छु ।

धर्मसँग जोडिएका सम्बन्धित निकायहरू देश लुट्नमा जहिले पनि सक्रिय छन् । तर धार्मिक एवं पावन क्षेत्रलाई संरक्षण गर्ने र जोगाउनेमा बजेटको अभाव देखाएर ताली पड्काउने गर्छन् । यस्ता भ्रष्ट प्रवृत्तिका लुटेरा कर्मचारी प्रशासनबाट आम नेपाली जनता सचेत भएर आफ्नो धर्म संस्कृति र परम्पराको हामी आफैले जगेर्ना गर्नुपर्छ । धर्म,संस्कृति परम्परा रीतिरिवाज मासिए देशको अस्तित्व रहँदैन् ।
(रायमाझी राजनीतिक विश्लेषक तथा लेखक हुन् ।)

प्रतिक्रिया