२८ भदौ २०८३, आइतबार | September 13, 2026

‘महाधिवेशन धकेल्ने र रोक्ने प्रवृत्ति कदापि स्वीकार्य छैन’ : बलदेव तिमल्सिना


September 13, 2026
415
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेका मुद्दा फिर्ता नलिई तथा ठोस निकास ननिकाली केवल महाधिवेशन धकेल्ने प्रयास स्वीकार्य नहुने नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री बलदेव तिमल्सिनाले बताएका छन् ।

कांग्रेसका २५ नेताले संयुक्त रूपमा जारी गरेको ‘महाधिवेशन रोकौँ, वार्ता गरौँ’ भन्ने अपिलको सन्दर्भमा प्रतिक्रिया दिँदै तिमल्सिनाले महाधिवेशन रोक्नेभन्दा पार्टीभित्र देखिएको विद्यमान विवादको ठोस समाधान खोजिनुपर्ने बताएका हुन् ।

उनले पूर्वसभापति देउवा र उपसभापति खड्काले दायर गरेका मुद्दा फिर्ता नलिई, ठोस निकास र निष्कर्षबिना महाधिवेशन मात्र सार्ने वा रोक्ने प्रवृत्तिले पार्टीलाई थप अन्योलमा पार्ने बताए ।

तिमल्सिनाले भने, ‘थप अन्योल एवं अलमलयुक्त बन्द कोठाका सम्झौता र छलछाम चिर्दै विशेष महाधिवेशनको वैधानिक अधिकार, लोकतान्त्रिक अभ्यास र पार्टीको वैधानिकतालाई कायम राख्न सभापति गगनकुमार थापाको नेतृत्वमा १५औँ महाधिवेशनको स्पष्ट मार्ग नै आजको आवश्यकता हो ।’

उनका अनुसार कांग्रेसको वर्तमान समस्या र चुनौतीको समाधान पनि यही बाटोबाट खोजिनुपर्ने आवश्यकता छ । महाधिवेशनलाई अनिश्चित बनाउने वा केवल समय धकेल्ने प्रयासले पार्टीभित्रको समस्या समाधान गर्नुको सट्टा झन् जटिल बनाउने उनको भनाइ छ ।

तिमल्सिनाले पार्टीको वैधानिकता, लोकतान्त्रिक अभ्यास र विशेष महाधिवेशनको अधिकारलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया