३ आश्विन २०८१, बिहिबार | September 20, 2024

भारतको सहयोगमा उदयपुरको जनता बेलका माविको भवनको शिलान्यास


December 14, 2023
83
Shares

काठमाडौं, २८ मंसिर । भारतको सहयोगमा उदयपुरको जनता बेलका माविको भवनको शिलान्यास गरिएको छ । पूर्व मन्त्री डा। नारायण खड्का र भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपाल–भारत विकास सहकार्य अन्तर्गत ३ करोड ७९ लाख आर्थिक सहयोगमा निर्माण हुने भवनको शिलान्यास गरिएको हो ।

उदयपुरको बेलका नगरपालिकास्थित श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास बुधबार गरेका हुन् । कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग आवश्यक कक्षा कोठा र अन्य पूर्वाधार संरचनासहितको तीन तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिने जनाइएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने जनाइएको छ ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री डा. नारायण खड्काले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताए । उनले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटेको बताए । दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनले गत महिना सफलतापूर्वक २० वर्ष पुरा गरेको पनि बताए ।

विद्यालयको भवन निर्माण सम्पन्न भएपछि नयाँ विद्यालय भवनले श्री जनता बेलका माध्यमिक विद्यालयका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्न मद्दत गर्नुका साथै यस क्षेत्रमा शिक्षाको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया