२५ भदौ २०८३, बिहिबार | September 10, 2026

देउवाको घरको ढोका गगन, शेखर र खड्काका लागि किन बन्द ?


September 10, 2026
830
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएका बेला पूर्वप्रधानमन्त्री एवं पूर्वसभापति शेरबहादुर देउवा पछिल्लो समय झन् आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्।

भक्तपुरमा आयोजित एक कार्यक्रममा देउवाले जुनसुकै हिसाबले पनि चारतारे झण्डा र रूख आफूहरूले नै पाउने दाबी गरेपछि कांग्रेसभित्रको विवाद थप सतहमा आएको छ। देउवाको अभिव्यक्तिलाई लिएर कांग्रेसभित्रै समर्थन र आलोचना दुवै भइरहेको छ।

तर देउवाको पछिल्लो राजनीतिक व्यवहारले भने अर्को प्रश्न जन्माएको छ—के देउवाले कांग्रेसका केही शीर्ष नेताका लागि आफ्नो घरको ढोका नै बन्द गरेका हुन् ?

कांग्रेसका वर्तमान सभापति गगन थापा, वरिष्ठ नेता डा। शेखर कोइराला, देउवाले नै कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्वउपसभापति पूर्णबहादुर खड्का तथा उपसभापति विश्वप्रकाश शर्मा लगायतसँग देउवाको संवाद लगभग टुटेको नेताहरू बताउँछन्।

विशेषगरी सभापति गगन थापाले देउवासँग भेटका लागि पटक–पटक समय मागे पनि भेट हुन नसकेको गुनासो गरिरहेका छन्। थापाले देउवा पार्टी एकताको पक्षमा नरहेको संकेतसमेत सार्वजनिक रूपमा दिँदै आएका छन्।

खड्कासँग किन चिसियो देउवाको सम्बन्ध ?

देउवासँग लामो समयदेखि निकट मानिएका पूर्णबहादुर खड्कासँग पछिल्लो समय सम्बन्ध चिसिनुको कारण पनि कांग्रेसभित्र चासोको विषय बनेको छ।

स्रोतका अनुसार देउवा सिंगापुरमा रहँदा पार्टीको कार्यवाहक जिम्मेवारी खड्कालाई दिइएको थियो। त्यस अवधिमा खड्काको नेतृत्वमा केन्द्रीय कार्यसमिति बैठक लामो समयसम्म सञ्चालन भएको थियो।

तर विशेष महाधिवेशन रोक्न नसकेको तथा त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिमा आफ्नो पक्षलाई जोगाउन नसकेको विषयमा देउवा खड्कासँग असन्तुष्ट बनेको स्रोतको दाबी छ।

देउवा सिंगापुरबाट फर्किएलगत्तै उनको पक्षले बीपी पुत्र डा। शशांक कोइरालालाई संयोजकको जिम्मेवारी दिएर गतिविधि अघि बढाएको छ। शशांकको नेतृत्वमा देउवा पक्षीय नेताहरूको बैठक हुँदै आएको छ भने चुनदेवीमा बसेको बैठकले कांग्रेसभित्र समानान्तर गतिविधि अघि बढाउने निर्णयसमेत गरेको छ।

शेखरसँग पनि बढ्यो दूरी

वरिष्ठ नेता डा। शेखर कोइरालाले विशेष महाधिवेशनको समयमा कांग्रेस विभाजन रोक्न दुवै पक्षलाई मिलाउने प्रयास गरेका थिए। उनले अन्तिम समयसम्म पनि पार्टीभित्र सहमतिको वातावरण बनाउन पहल गरे।

तर उनको प्रयास सफल भएन। अन्ततः विशेष महाधिवेशन भयो र कांग्रेस गगन थापाको नेतृत्वमा पुग्यो।

पछिल्लो समय देउवा पक्षले समानान्तर गतिविधि अघि बढाउन थालेपछि भने शेखर त्यसबाट टाढिँदै गएका छन्। विशेषगरी कांग्रेस विभाजनतर्फ जाने कुनै पनि निर्णयमा आफू सहभागी नहुने संकेत शेखरले दिएका छन्।

चुनदेवीमा भएका बैठकमा समेत उनको सहभागिता घट्दै गएको छ। यही कारण देउवा शेखरसँग पनि असन्तुष्ट रहेको कांग्रेस वृत्तमा चर्चा छ।

गगनसँग देउवाको सबैभन्दा ठूलो टकराव

देउवा र गगन थापाबीचको दूरी भने अझ गहिरो देखिन्छ।

विशेष महाधिवेशन रोक्ने देउवाको प्रयासमा महामन्त्रीद्वयबाट अपेक्षित सहयोग नपाएको विषयलाई देउवाले गम्भीर रूपमा लिएको उनीनिकट नेताहरू बताउँछन्। अन्ततः विशेष महाधिवेशनपछि देउवाले सभापतिको जिम्मेवारी गुमाए र गगन थापा नयाँ सभापतिका रूपमा उदाए।

त्यसयता दुई नेताबीचको राजनीतिक दूरी झन् बढेको देखिन्छ।

अहिले पार्टीको वर्तमान सभापति नै भेटका लागि समय माग्दा समेत भेट नहुनुले कांग्रेसभित्रको सम्बन्ध कति तिक्त बनेको छ भन्ने संकेत गरेको छ।

अर्थात्, कांग्रेसको नेतृत्व परिवर्तन भए पनि पुरानो नेतृत्व र नयाँ नेतृत्वबीचको राजनीतिक दूरी घट्नुको सट्टा झन् बढिरहेको छ।

देउवाको घरको ढोका गगनका लागि बन्द हुनु केवल व्यक्तिगत भेटघाटको विषय हो कि कांग्रेसभित्र गहिरिँदै गएको राजनीतिक विभाजनको संकेत—अब कांग्रेसको आगामी कदमले यसको जवाफ दिनेछ।

प्रतिक्रिया