३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भारतको सहयोगमा निर्मित मंगलादेवी प्रसुती केन्द्र हस्तान्तरण


November 7, 2023
0
Shares

काठमाडौं, २१ कात्तिक । भारत सरकारको सहयोगमा निर्मित मंगलादेवी प्रसुती केन्द्र मंगलबार हस्तान्तरण गरिएको छ । नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित उक्त केन्द्र भारतीय राजदूतावासले हस्तान्तरण गरेको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा बर्थिङ सेन्टर हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण समारोहमा राजनीतिक प्रतिनिधि, नेपाल सरकारका अधिकारी, समाजसेवी तथा स्थानीय समुदायका अगुवाहरुको पनि सहभागीता रहेको थियो । सोही अवसरमा भारतीय अनुदान सहयोग अन्तर्गत नेपालका बैतडी र मुस्ताङ्ग जिल्लामा कूल अनुमानित लागत १३ करोड रुपैयाँ लाग्ने थप तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४ करोड ४० लाख रुपैयाँ लागतमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलादेवी बर्थिङ सेन्टरको निर्माण गरिएको हो ।

कोभिड–१९ महामारीको ताका र यस अस्पतालका विभिन्न विभागलाई २ थान ४० केभीए डिजल जेनेरेटर, ५ वटा बस र २ वटा एम्बुलेन्स भारत सरकारले उपलब्ध गराएको छ जसमध्ये एउटा एम्बुलेन्समा एडभान्स लाइफ सर्पोटको सुविधा रहेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिहरुले यो बर्थिङ सेन्टर नर्सद्वारा रेखदेख गरिने बताए । नेपालका अन्य क्षेत्रमा कार्यान्वयनका लागि यो बर्थिङ सेन्टर नमुना बर्थिङ सेन्टरको रुपमा काम गर्न सक्ने बताउँदै यसले मातृ मृत्युदर घटाउन मद्दत पुर्याउने बताए ।

अर्थमन्त्री महतले नेपालमा विकास पूर्वाधार निर्माणमा निरन्तर सहयोग गरेकोमा भारतलाई धन्यवाद व्यक्त गरे । उनले उच्च प्रभाव सामुदायिक विकास परियोजना भारत र नेपालबीचको विकास साझेदारीको आधारशिला भएको बताए । नेपाली जनताको जीविकोपार्जनमा प्रभाव पार्ने यी परियोजनाको कार्यान्वयनका लागि नेपाल सरकारको पूर्ण सहयोग रहने अर्थमन्त्री महतले सुनिश्चितता दिलाए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले यस्ता परियोजनाको मुख्य पक्ष भनेकै छोटो समयमा निर्माण सम्पन्न भई प्रतिफल दिने र स्थानीय तहको आर्थिक विकासमा यसले खेल्ने भूमिका रहेको बताइन् । उनले भारतको सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । उच्च प्रभाव सामुदायिक विकास परियोजना भलै आकारमा सानो भए पनि आम नेपाली जनताको जीवनमा ठूलो प्रभाव पारेको र समुदायमा परिवर्तन ल्याएकोले यसलाई उच्च प्रभावकारी परियोजना भन्न उपयुक्त हुने बताइन्।

कार्यक्रममा बोल्दै भारतीय राजदूत नवीन श्रीवास्तवले विगत बीस वर्षमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनको यो यात्रा निकै सफल रहेको बताए। सन् २००३ यता शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी प्रशिक्षण, खानेपानी, विद्युत, सिंचाइ, संस्कृति, समाज कल्याण जस्ता विविध क्षेत्रमा करिब ५५० वटा परियोजना यस ढाँचा अन्तर्गत अघि बढेकोमा सन्तोष व्यक्त गर्दै राजदूत श्रीवास्तवले यसले मानिसहरुको जीवनमा प्रत्यक्ष प्रभाव पारेको बताए ।

राजदूत श्रीवास्तवले नेपाल सरकारको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनलाई अझ व्यापक र सुदृढ बनाउने प्रतिबद्धता जाहेर गरे । यी उच्च प्रभाव सामुदायिक विकास परियोजनाले विविध क्षेत्रलाई समेट्नुका साथै नेपालको थुप्रै ठाउँमा फैलिएको छ । नेपालका सबै प्रदेशमा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाइएको छ । कोशी प्रदेशमा ८४ वटा परियोजना, मधेस प्रदेशमा ८१ वटा परियोजना, बाग्मती प्रदेशमा १०५ वटा परियोजना, गण्डकी प्रदेशमा ६१ वटा परियोजना, लुम्बिनी प्रदेशमा ६० वटा परियोजना, कर्णाली प्रदेशमा १४ वटा परियोजना र सुदूरपश्चिम प्रदेशमा ४१ वटा परियोजनाहरु सञ्चालित छन् । यी परियोजनाहरु एकभन्दा बढी प्रदेशमा फैलिएका १०७ वटा परियोजना बाहेकका हुन् ।

प्रतिक्रिया