२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भानुभक्तीय रामायण वाचन तथा खुला कविता प्रतियोगिता


0
Shares

चुँदीरम्घा (तनहुँ), ३० असार : राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१० औैँ जन्मवयन्तीका अवसरमा भानु नगरपालिका–४ मा भानुभक्तीय रामायण वाचन तथा खुला कविता प्रतियोगिता सम्पन्न भएको छ ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा भएका प्रतियोगितामा रामायण वाचनतर्फ आराध्या ढकाल प्रथम, स्वाधीनता पौडेल द्वितीय, प्रस्तुति आचार्य तृतीय तथा विनिशा श्रेष्ठ र रक्षा पौडेलले सान्त्वना पुरस्कार पाउने घोषित गरिएको छ । यस्तै खुला कविता प्रतियोगितातर्फ दयाराम पौडेल प्रथम, विवेक पराजुली द्वितीय, विनायक नेपाली तृतीय तथा सूर्यदेवी पौडेल र आयुशा आचार्य सान्त्वना पुरस्कार पाउनुहुनेछ ।

उहाँहरुलाई शुक्रबार हुने कार्यक्रममा क्रमशः रु १० हजार, सात हजार, पाँच हजार र दुई दुई हजार पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष ऋषिराम पन्तले जानकारी दिनुभयो । स्थानीय विद्यालयका विद्यार्थी र अन्य स्थानका वयस्क कविहरुले समेत प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रममा काठमाडौँ र मुलुकका विभिन्न स्थानबाट स्रष्टाहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा साहित्यकारहरु काशीराज आचार्य, विश्वविमोहन श्रेष्ठ र ज्योति जङ्गल सम्मिलित निर्णायक समिति गठन गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठाना पूर्व उपकुलपति डा विष्णुविभु घिमिरेले आदिकविले जनजीवनका शैलीमा भानुभक्तीय रामायाण र अन्य लोकपिय रचना गरेका कारण उहाँको श्रेय नेपाल बाहिर नेपालीहरु पुगेका सबै स्थानमा भएको बताउनुभयो । उहाँले प्रतिभा अब्बल भएमा कुनै सञ्चारमाध्यम वा विमोचनजस्ता कार्यक्रमबाट प्रचार नभए पनि मानिसले कृति आफै बोकेर देशाटन गर्ने उदाहरण रामायणलाई लिन सकिने जनाउनुभयो ।

साहित्यकार विधान आचार्यले लेग्रो तानेर गरिने वाचन भानुभक्तीय रामायणकोे स्थानीय वाचनको मानक नभएकाले नयाँ पुस्तालाई त्यसको जानकारी हुनुपर्ने आग्रह गर्नुभयो । असार २९ गते भानुको जन्मस्थल विकास समितिको कार्यालयबाट बिहान ७ बजे झाँकी प्रदर्शनीसहित प्रभातफेरि शुरू भई चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरिने छ । तत्पश्चात पुरस्कार वितरण र अन्य कविका कविता वाचन कार्यक्रम हुनेछ । सोही कार्यक्रममा समितिद्वारा पहिलोपटक प्रकाशित भानुभक्तको रामायण ग्रन्थको विमोचन पनि गरिनेछ ।

प्रतिक्रिया