३ कार्तिक २०८१, शनिबार | October 19, 2024

वाग्लेलाई रचनात्मक सहयोग र खबरदारीपूर्ण साथ दिने गोविन्द भट्टराईको प्रतिबद्धता


0
Shares

काठमाडौं, १२ वैशाख । तनहुँ–१ मा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् । सामाजिक सञ्जलमार्फत भट्टराईले वाग्लेलाई मंगलबार बधाई दिएका हुन् ।

आइतबार सम्पन्न भएको उपनिर्वाचनमा वाग्लेले ३४ हजार ९४१ मत प्राप्त गरी विजयी भएका थिए काग्रेसका भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याएर तेस्रो स्थानमा छन् । राप्रपाकी शोभा गुरु«ले २१८ मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत प्राप्त गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘प्रिय स्वर्णिमजी !
सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई!
चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिष्पर्धा रह्यो ।
र, संयोगले तपाईं निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो ।
तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ ।
मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु । अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।
यहाँका मतदाताको अति ठूलो अपेक्षा अनि भरोशा पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न सक्नुहोस्, मेरो धेरै धेरै शुभकामना छ ।’

 

प्रतिक्रिया