१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एपिएफलाई पराजित गर्दै चर्च ब्वाईज सेमिफाइनलमा प्रवेश


0
Shares

बारा, १५ चैत । सशस्त्र प्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लब विरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बाराको सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागिता मैं सेमीफाइनलको यात्रा तय ग¥यो । रोमाञ्चक जितसँगै उसले न्युरोड टिम एनआरटीसँगको सेमिफाइनलमा भेट गर्ने पक्का ग¥यो । फाइनल प्रवेशका लागि चर्च ब्वाईजले विहिवार एनआरटीको सामना गर्ने छ ।

एपिएफका मिड फिल्डर सन्तोष श्रेष्ठले खेलको २३ औं मिनेंटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए पनि एपिएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो ।

श्याम नेपालीले डी–बक्स भित्र उपलब्ध गराएको बल नियन्त्रणमा लिंदै सन्तोषले टिमलाई अग्रता दिलाएका थिए । सन्तोषको एयर बलले जाली चुम्दा चर्च ब्वाईजका अफ्रिकी गोल रक्षक प्रिसोले बचाउको प्रयास सम्म गर्न पाएनन् । चर्च ब्वाईजको जितमा मिड–फिल्डर द्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले समान एक–एक गोल गरेका थिए ।

खेलको ३१ औं मिनेंटमा चर्चब्वाईजका सन्तोष न्यौपानेले टिमलाई खेलमा फर्काए । रञ्जित पाण्डेको क्रस बलमा हेडर एटेम्प गरेका सन्तोषको प्रहार एपिएफका डिफेण्डरको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो ।

एपिएफसँगको बराबरी पछि आक्रामक बनेको चर्चब्वाईज पहिलो हाफ मै अग्रता बनाउन सफल भयो । खेलको ४३ औं मिनेंटमा रञ्जित पाण्डेको उत्कृष्ट डाइविङ हेडर मार्फत चर्च ब्वाईजले अग्रता लिएको थियो । सुवास गुरुङको क्रस बलमा रञ्जितको स्मरणीय गोल पछि चर्च ब्वाइजका प्रशिक्षक प्रदिप हुमागाँई दङ्ग देखिन्थे ।

दोश्रो हाफ गोल रहित बने पनि दुबै टिमले आकर्षक अवसरहरु सिर्जना गर्दा सिमरा रङ्गशालामा उपस्थित करिब सात हजार दर्शक आ–आफ्नों टिमको समर्थनमा हुटिङ गर्दै अन्तिम सम्म प्यारापिट मैं बसे ।

खेलको एभरेष्ट बैंक म्यान अफ दी म्याच चर्च ब्वाईजका अफ्रिकी मिड फिल्डर ओउसो वेम्पा घोषित भए । एभरेष्ट बैंकका रिजनल हेड विभूति न्यौपाने र जीतपुरसिमराका वडाध्यक्ष इश्वर खत्रीले म्यान अफ दी म्याचको ट्रफि र दश हजार नगद प्रदान गरे । प्रतियोगिता अन्तर्गत बुधवार हुँने पहिलो सेमिफाइनल खेलमा हेटौंडाको मकवानपुर ११ ले ‘ए’ डिभीजन क्लब हिमालयन शेर्पाको सामना गर्ने आयोजकले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया