१० कार्तिक २०८३, सोमबार | October 26, 2026

आजदेखि एनपिएलको तेस्रो संस्करण : विश्व क्रिकेटका चर्चित खेलाडीको जमघट


October 26, 2026
0
Shares

काठमाडौं । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ः३० बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिता, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता र पहिलोपटक प्रयोग हुन लागेको डिसिजन रिभ्यू सिस्टम (डिआरएस) जस्ता विषयले यसपटकको एनपिएललाई थप चर्चामा ल्याएका छन्।

रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रने लुम्बिनी र दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहने सुदूरपश्चिमबीचको उद्घाटन खेलले गत संस्करणको फाइनलको स्मरण गराउनेछ। दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। त्यसैले लुम्बिनी यसपटक पनि विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछ भने सुदूरपश्चिम पुरानो हारको हिसाब बराबर गर्ने योजनासहित मैदान उत्रनेछ।

यसपटक एनपिएलमा के–के छन् नयाँ ?

१। विश्व क्रिकेटका चर्चित खेलाडीको आकर्षण

एनपिएलको तेस्रो संस्करणमा अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव बटुलेका चर्चित खेलाडीको सहभागिताले प्रतियोगिताप्रति दर्शकको आकर्षण बढाएको छ। विदेशी खेलाडीको उपस्थितिले नेपाली खेलाडीलाई उच्चस्तरको प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्नेछ। साथै, उनीहरूको अनुभवबाट नेपाली खेलाडीले नयाँ सीप र रणनीति सिक्ने अपेक्षा गरिएको छ।

२। डिआरएसको प्रयोग

यस संस्करणको चर्चित पक्षमध्ये एक हो—डिसिजन रिभ्यू सिस्टम (डिआरएस)। अम्पायरको निर्णयमा चित्त नबुझेमा निर्धारित प्रक्रियाअनुसार समीक्षा माग्न सकिने यो प्रणालीले खेलका विवादास्पद निर्णयको पुनरावलोकन गर्न सहयोग गर्छ। यसको प्रयोगले अम्पायरिङमा प्रविधिको भूमिका बढाउनुका साथै खेलको निष्पक्षता र विश्वसनीयतामा थप ध्यान केन्द्रित गर्नेछ।

३। आइसिसीको आधिकारिक मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यताले पनि यस संस्करणलाई विशेष बनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता र मापदण्डसँग जोडिएको प्रतियोगिताका रूपमा एनपिएलको पहिचान विस्तार हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण विषय हो। यसले प्रतियोगिताको अन्तर्राष्ट्रिय छवि र नेपाली क्रिकेटको व्यावसायिक विकासबारे थप चासो बढाउने अपेक्षा गरिएको छ।

उपाधि रक्षा कि बदला ? 

उद्घाटन खेलमै गत संस्करणका फाइनलिस्ट आमनेसामने हुँदा प्रतियोगिताको सुरुवात रोमाञ्चक हुने अपेक्षा गरिएको छ। लुम्बिनीका लागि उपाधि रक्षा गर्ने यात्राको पहिलो परीक्षा हुनेछ भने सुदूरपश्चिमका लागि अघिल्लो फाइनलको नतिजालाई बिर्साउँदै नयाँ अभियान सुरु गर्ने अवसर।

एनपिएलको लोकप्रियता बढ्दै जाँदा यो प्रतियोगिता नेपाली क्रिकेटका लागि खेलकुद मनोरञ्जनको माध्यम मात्र नभई खेलाडीको प्रतिभा प्रदर्शन, विदेशी खेलाडीसँग प्रतिस्पर्धा र क्रिकेटको व्यावसायिक विकासको महत्त्वपूर्ण मञ्चसमेत बन्दै गएको छ।

विश्व क्रिकेटका चर्चित खेलाडी, प्रविधिको प्रयोग र उपाधिका लागि आठ टोलीबीच हुने प्रतिस्पर्धाले यस संस्करणलाई कति रोमाञ्चक बनाउनेछ भन्ने चासो अब क्रिकेटप्रेमी माझ बढेको छ। आजको उद्घाटन खेलसँगै नेपाली क्रिकेटको अर्को प्रतिस्पर्धात्मक यात्रा सुरु हुनेछ।

प्रतिक्रिया