३१ भाद्र २०८१, सोमबार | September 17, 2024

उपेन्द्र यादवको सांसद बन्ने प्रयासमा चुनौतीको पहाड


0
Shares

काठमाडौं, १६ चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन जितेर सांसद बन्न रणनीतिक चार्तुयता देखाए । उनले बारा जिल्ला क्षेत्र नं २ बाट मंसिर ४ मा भएको संसदको चुनाव जितेका रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएर उक्त क्षेत्रमा उपनिर्वाचनको अवस्था बनाउन सके ।

यादव बारा २ बाट उम्मेदवार बन्ने तयारीमा छन् । तर, उनलाई मधेश केन्द्रित दलकै नेताहरुले चुनौती दिन थालेका छन् ।

बारा २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतले शिवचन्द्र कुशवाहलाई उम्मेदवार खडा गर्ने तयारी गरिसकेका छन् । कुशवाह बारा २ बाट मंसिर ४ को चुनावमा राम सहाय यादवसँग ३५४ मतान्तरले पराजित सीपीएन एमकेका उम्मेदवार थिए । बुधवार कुशवाल सीके राउतको दलमा प्रवेश गरिसकेका छन् ।

सीके राउतले नै सप्तरी २ बाट उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गरेका थिए । यादवले उपनिर्वाचनबाट सांसद बन्न अहिलेसम्म चालेको रणनीतिमा चुनौतीका पहाडहरु उठ्न थालेका छन् ।
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली नेता राजेन्द्र महतो पनि बारा २ बाट उम्मेदवार बन्ने भएका छन् । उनलाई अगाडि सार्ने तयारी भएको उक्त दलका एक नेताले हिन्दूस्थान समाचारलाई बताए ।

बारा २ बाट उपेन्द्र यादवलाई चुनाव जित्न नदिन मधेश केन्द्रित दलका प्रभावशाली नेताहरु नै लागेका छन् । यसले उनको सांसद बन्ने प्रयासमा चुनौती देखिएको छ ।

प्रतिक्रिया