७ आश्विन २०८१, सोमबार | September 24, 2024

न्यायालयमा घुसकाण्ड, सेटिङ हुँदै हनिट्रयाप


January 2, 2024
9.5k
Shares

नेपाली पेन, १७ पुस । देशमा माफिया शैलीमा आफ्नो स्वार्थपूर्ति गर्नेहरु अदालतमा समेत प्रभावशाली बन्दै गएका छन् । उनीहरु अदालतलाई आफू अनुकूल चलाउनका लागि साम, दाम, दण्ड भेदको रणनीति अपनाउन थालेका छन् । पछिल्लो समय हनी ट्रयापको अस्त्रबाट न्यायाधीशहरुलाई स्वार्थको चंगुलमा पार्न थालेका छन् ।

सर्वोच्चका एकजना न्यायाधीशको नाम जोडिएको “हनिट्रयाप” शीर्षकको अडियो कुराकानी चर्चामा छ । सर्वोच्चका बहालवाला न्यायाधीशमध्ये प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाश राउत र सपना मल्ल कल्याण-अग्नि-सुशीलाको समूहले न्याय परिषदको गठन नहुँदै संविधानविपरीत नियोजित रूपमा सेटिङमा मध्यरातमा नियुक्ति गरेका हुन् । यो नियुक्ति नेपालको न्यायिक इतिहासमा सर्वाधिक आलोच्य रह्यो । यो नियुक्तिले दलका कार्यकर्तालाई भागबन्डामा प्रधानन्यायाधीशको रोलक्रममा राखी अदालतमा हुल्यो ।

न्यायपालिका र कार्यपालिका दुवैको प्रमुखमा खिलराज रेग्मीको नियुक्तिपश्चात् गुमेको न्यायिक स्वतन्त्रतालाई कल्याण नेतृत्वको समूहले रसातलमा पुर्‍याउने काम गर्‍यो । जुन शक्तिले खिलराज काण्ड घटायो त्यही शक्तिले कल्याणको हातबाट न्यायिक स्वतन्त्रता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पाउमा चढायो । ओलीकै कार्यकालमा कल्याणको पदचाप पछ्याउँदै उनका उत्तराधिकारी चोलेन्द्रले प्रकाश ढुङ्गाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाँल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकूल सुवेदीको नियुक्ति सेटिङ, भागबन्डा र लिलाम बढाबढमा गरे । हाल विवादमा आएका तिलप्रसाद भने दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएको मौकामा एकल नियुक्ति पाएका हुन् । नवप्रवेशी विनोद शर्मा, शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल भने अहिलेको न्याय परिषदद्वारा नियुक्त भएका हुन् । न्यायिक वृत्तमा डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ उत्तममा गनिन्छन् । यद्यपि डा. भट्टराईको नियुक्ति कल्याण श्रेष्ठको कारण विवादित रह्यो ।

को हुन् नवराज थपलिया
घुसकाण्डहरुले बदनाम चोलेन्द्र नेतृत्वको न्याय परिषदले सिफारिसहरूमध्ये विवादित नामहरू मनोजकुमार शर्मा, हरि फुयाँल, कुमार रेग्मी, नहकूल सुवेदी हरूमध्ये सर्वाधिक विवादित नाम नवराज थपलिया हो । थपलिया अखिल पाचौँ तर्फबाट नेपाल ल क्याम्पस स्ववियुका पूर्व सभापति हुन् । वकीलको लाइसेन्स लिएपनि उनले एमाले राजनीति र कानूनव्यवसाय दुवैमा भविष्य देखेनन् र अपनाए दुवैभन्दा भिन्न पेसा । उनको मुद्दाको दलाली यति फस्टायो कि यसैमा कुख्याती कमाए । पृष्ठभूमि एमाले भएपनि थपलियाले काँग्रेस नेता कृष्णप्रसाद सिटौला, सर्वोच्चका तत्कालीन न्यायाधीश मोहनप्रकाश सिटौला र तत्कालीन न्याय परिषद सदस्य रामप्रसाद सिटौलाको परिवारमा सम्बन्ध बनाउन सफल भए ।

सिटौलाका ज्वाइँ भएपछि यिनको पहुँच र दबदबा नेता र न्यायपालिकामा राम्रै रह्यो । यिनी सुरुमा अखिल पृष्ठभूमिका न्यायाधीश, तिनका नातेदार र आफन्तसँग पहुँच पुर्‍याइ न्यायाधीश र न्यायसेवाका उच्च पदस्थ कर्मचारीको घरघरमा उपहार बोकी धाउने गरे । यसै क्रममा यिनको भेट नामूद बीचौलिया नारायण दाहाल र जयनारायण पौडेलसँग भयो । यिनैमार्फत मनोजकुमार शर्मासँग मित्रता बढाए । प्रधानन्यायाधीशको लाइनमा रहेका गोपाल पराजुलीको नातेदार नहकूल सुवेदीसँग पनि यिनको घनिष्टता बढ्यो । यी दुवैको राजनीतिक र विवाहको पृष्ठभूमि समान भएकोले सुवेदी सर्वोच्चको मुद्दा शाखा प्रमुख भएकै बेलादेखि यिनीहरूको चलखेल फस्टाउन थाल्यो ।

पराजुली तुरुप पछारी सुवेदी न्याय परिषद सचिव र मुख्य रजिष्ट्रार भएपछि त यिनको बासै सुवेदीकै कार्यकक्षमा हुन्थ्यो । सुवेदीलाई भेट्न आउने कर्मचारी र न्यायाधीश यिनको सम्पर्कमा आउने क्रम बढ्यो । यिनको नेटवर्क पनि दिन दुगुना रात चौगुना बढ्न थाल्यो । पराजुली साइनो भँजाएर मुख्य न्यायाधीश हुँदै सर्वोच्च छिर्ने सुवेदीको योजनाबारे जानकार थपलियाको महत्त्वकांक्षा पनि बढ्न थाल्यो । उनी बीचौलियाबाट न्यायाधीशमा छलाङ मार्ने दाउमा लागे । सुवेदी नाताले गाडी दुर्घटनामा बितेकी पराजुलीकी माइली पत्नीकी भदै ९जेठानकी छोरी० को पति अर्थात साढु थिए ।

पराजुलीकी कान्छी पत्नी वसन्ताले सुवेदीलाई फुटेको आँखाले पनि देख्न नसक्ने र भाञ्जा बालचन्द्रले पनि मन नपराउने भएकोले दुवैमाथि हाबी भई पराजुलीलाई ब्ल्याकमेलिङ गर्न उपाय खोजिरहेका सुवेदीले सल्लाह गर्दा थपलियाले एकवर्ष अघिमात्रै वकीलको प्रमाणपत्र लिएको आफ्नो विश्वासिलो विकास गिरीको बारेमा बताए । गिरीलाई उभ्याइ पराजुली विरुद्ध उमेरको मुद्दा हाल्ने, यदि पराजुलीसँग सौदा पक्का भएमा मुद्दा फिर्ता लिन लगाइ डिल गर्ने, पराजुली जालमा नफँसे मुद्दैबाट पराजुली हटाउने र चोलेन्द्रलाई सहयोग गर्ने सुवेदी(थपलियाको वैकल्पिक योजना बन्यो । पराजुलीका सबै भेद, दाउपेच र कमजोरीबारे जानिफकार सुवेदीसँग पराजुलीका भएभरका कागजातहरू कब्जामा थिए । पराजुली सुवेदीको योजनामा फँसे ।

योजनामुताबिक विकास गिरीमार्फत मुद्दा दर्ता हुन्छ, पराजुली आत्तिन्छन्, सुवेदी विहान बेलुकै गएर पराजुलीको एकमात्र सहारा आफू भएको विश्वास दिलाउँछन् । विस्तारै सुवेदी दुवैमाथि हाबी हुन्छन् । सेटिङ अनुसार रिट निवेदक गिरीलाई लिएर सुवेदी र थपलिया पराजुली निवासमा राती ९ बजे पुग्छन् । गिरीलाई १ करोड दिई मुख बुझो लगाउने, बैङ्कक घुमाउन पठाउने र तारेख गुजार्ने अनि मुद्दा डिसमिस गर्ने सौदा हुन्छ । गिरीको लागि गर्नुपर्ने सम्पूर्ण खर्च आफूले इन्तजाम गर्ने सुवेदीले पराजुलीलाई बताउँछन् । वसन्ता र बालचन्द्रका अतिरिक्त पराजुलीको सुरक्षाकर्मी र चालकले समेत यो कुराको आंशिक सुइँको पाउँछन् तर अलमलमा गुपचुप राख्छन् । योजना अनुसार नौटङ्की सफल हुन्छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासबाट मुद्दा खारेज हुन्छ । प्रधानन्यायाधीश बन्ने मार्ग सुवेदीको कारण सफल भएको भ्रम पराजुलीलाई पर्छ, उनी ढुक्क हुन्छन् । सुवेदी माथिको पराजुलीको निर्भरता बढ्न थाल्छ । उनी सुवेदी बाहेकको समेत कुरा नसुन्ने गरी एकोहोरिन्छन् । सुवेदीले जे भन्यो पराजुली सोही मान्न थाल्छन् । पराजुली एक वर्षमा ३ चोटी बढुवा गराइ सुवेदीलाई मुख्य रजिष्ट्रार र मुख्य न्यायाधीश बनाउँछन् ।

योजना अनुसार सुवेदीले पद हत्याए पनि थपलियाको न्यायाधीश बन्ने सपना त अधुरो नै रहन्छ । अब उनी दोस्रो विकल्प अर्थात चोलेन्द्र कार्ड प्रयोग गर्नेतर्फ लाग्छन् । थपलियाकी पत्नी र राणाकी छोरी ९पूर्व गभर्नर तिलक रावलकी बुहारी० कलेजका सहपाठी भएको फाइदा पनि उनलाई छँदै थियो । चोलेन्द्र पनि तत्कालीन न्याय परिषद सदस्य सुरेन्द्र बहादुर सिंह विरुद्ध उमेर ढाँटेको मुद्दा हाली सौदाबाजीमा न्यायाधीश पद हत्याएकाले पृष्ठभूमि दुवैको समान हुन्छ । अन्तत चोलेन्द्रले २०७५ चैत १९ मा थपलियालाई न्यायाधीश बनाउँछन् ।

पदीय दलाली
थपलिया न्यायाधीश भएपछि केही समय दिपायल पठाइए, केही समय बुटवल बसे, त्यसपछि पाटन बसे, सबै समय उपत्यकामा मुद्दा दलालीमा बिताए । चोलेन्द्र र अन्य न्यायाधीशका नाममा घुस उठाउनु र मुद्दामा सेटिङ गर्नु उनको भूमिका थियो । न्यायाधीश बनेपछि थपलियाको पदीय हैसियत ह्वात्तै बढ्यो । थपलियाको नेटवर्कभित्र अब झगडियामात्र होइन ठूला शिकारीहरूपनि आवद्ध भए । यसअघि घरदैलोसम्म मात्र पहुँच भएका थपलिया न्यायाधीश भएपछि अदालत र सिधै इजलासमै पुग्न थाले । सुनुवाइ भइरहेको मुद्दामा न्यायाधीशको मनस्थिति अनुसार अपर्झटमा सेटिङ मिलाउनु परेमा पनि थपलिया अचुका अस्त्र भए ।

न्यायको खुद्रा बजारमा उनको एकलौटी होलसेल जम्यो । ठूलोमा चोलेन्द्रदेखि सानोमा जिल्ला न्यायाधीशहरूपनि थपलियाको रिङमा आवद्ध भए । चोलेन्द्रसँगका पटकपटकका संवादको कल डिटेल, चोलेन्द्रसँग मुद्दाका पक्षलाई भेटाएको, मुद्दामा बीचौलियको भूमिका खेलेको, आफ्नै पूर्व फर्म पार्टनर कैलास पाण्डे रिट निवेदक रहेको लेबनानको भेन्नाइज सोलुसन्स भन्ने कम्पनीको फाइल बोक्दै ल फर्महरूमा गएको, थपलियाको सक्रियतामा भेन्नाइजले चोलेन्द्र र कुमार चुडालको संयुक्त इजलासबाट १३ वैशाख २०७८ मा आदेश गराइ दुरसञ्चार सफ्टवेयर र उपकरणसम्न्धी करिब डेढअर्ब रुपैयाँको ठेक्का हात पार्न सफल भएको विस्तृत विवरणसहित उनीमाथि कारबाही हुनुपर्ने भन्दै बार एसोसिएसनले पनि उनीमाथि न्याय परिषदमा उजुरी दिएको थियो ।

तिलप्रसाद श्रेष्ठको इन्ट्री
थपलियामाथि छानबिन गर्ने न्याय परिषदले सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको अध्यक्षतामा एक समिति गठन गर्यो । समितिले बुझाएको प्रतिवेदनमा चोलेन्द्रको नाम लिएर सेटिङ मिलाउने, रकम आवश्यक पर्ने भनेर बीचौलियाको भूमिका निभाउने, लैनचौरको एम्बेसडोर होटलमा एक महिलासँग ६० लाख बुझेको, सर्वसाधारणको ६ अर्बभन्दा बढी ठगी गरेको आरोप लागेका युनिटी ठगी प्रकरणका अभियुक्त लोकबहादुर टण्डनसँग ३ करोड रूपैयाँ लिएको आरोप उनीमाथि छ । टण्डनको ग्रिनसिटी अस्पतालको कम्पनीसमेत सचिव थपलिया थिए ।

थपलिया छँदाछैदै ललितपुर जिल्ला अदालतमा चलेको आफ्नो युनिटी ठगीको मुद्दा प्रभावित पार्न टण्डनका आफ्ना छिमेकी एवं घुमाउरो नाता पर्ने केशरीराज पण्डितसँग सल्लाह माग्छन् । त्यतिखेर पण्डित पाटनमा मुख्य न्यायाधीश थिए । पण्डितले आफ्नै कम्पनी सचिव रहेका नवराज थपलियाको पहुँच माथिसम्म भएकोले उनैमार्फत सेटिङ मिलाउन सुझाउँछन् । टण्डन, पण्डित र थपलियाबीच ग्रिनसिटी अस्पतालको टण्डनको कार्यकक्षमा मिटिङ हुन्छ । पटकपटकको सल्लाह अनुसार कुरो थपलियामार्फत जयनारायण पौडेल र मनोजकुमार शर्मा हुँदै दामोदर प्रसाद शर्मासमक्ष पुग्छ । चार करोडमा डिल तय हुन्छ । त्यतिखेर ललितपुरमा जिल्ला न्यायाधीश हुन्छन् खेलाडी टेकनारायण कुँवर ।

कुँवर कास्की जिल्ला अदालतको स्रेस्तेदार हुँदा पोखरामै अभिवक्ता रही दलाली गर्ने जयनारायण र टेकनारायण मिली तत्कालीन १ नं। न्यायाधीश नवराज उपाध्यायालाई प्रभावित पारी लाहुरेका पत्नीको नक्कली सम्बन्धविच्छेद गराएर कमाएका थिए । त्यही घटनाबाट सर्वोच्च अदालत फुलकोर्टले नियमावलीमा संसोधन गरी पक्ष स्वयं वा निजको अधिकृत वारेस बाहेक साधारण वारेसनामाको भरमा सम्बन्धविच्छेद नगर्न सर्कुलर नै गर्नुपर्‍यो । पण्डित, मनोजकुमार र जयनारायण सबैको विश्वासिलो सम्पर्कसुत्र थपलिया हुन्छन् । मनोजकुमारले काका दामोदर शर्मासँग र जयनारायणले मित टेकनारायणसँग सेटिङ मिलाउँछन् । सानो रिहर्सल हुन्छ ।

दामोदरले केशरीलाई सर्वोच्चमा बोलाएर ललितपुरमा भएको युनिटीको मुद्दामा निर्दोष फँसेकोले जिल्ला न्यायाधीशलाई मिलाएर हेर्न निर्देशन दिन सुझाउँछन् । त्यति भएपछि पण्डितलाई के चाहिन्थ्यो, उनले उक्तमुद्दा गोला नहाली १ नं। न्यायाधीश रहेका टेकनारायण कुँवरले नै हेर्नु भनी ललितपुरका न्यायाधीशहरू पाटन बोलाइ रजिष्ट्रार र स्रेस्तेदारको समेत रोहबरमा निर्देशन दिन्छन् । सबै पानी माथिको ओभानो बन्छन् । उता जयनारायण र टेकनारायणको छुट्टै डिल ठगी मुद्दामा अन्य अभियुक्तहरूसँग समेत भिन्दाभिन्दै हुन्छ । तीमध्ये युनिटीको म्यानेजर रहेका सिवाकोटी थरका दोलखाका अभियुक्तले आफ्नो भक्तपुरमा रहेको घडेरी र घर बेची एवं अन्य अभियुक्तसँग पैसा उठाइ फाल्टै ३ करोड रुपैयाँ जयनारायणमार्फत टेकनारायणलाई बुझाउँछन् । मुख्य न्यायाधीश र प्रधानन्यायाधीशसमेत दाहिना भएपछि कुँवर बलियो हुन्छन् ।

टेकनारायणले पैसा नबुझाउने अभियुक्तहरूलाई दोषी ठहर गरी बैसा बुझाउने लिष्टमा रहेका युनिटी ठगीका अभियुक्तहरू निर्दोष भएको, निर्दोषलाई मुद्दा चलाएर तथा थुनामा राखेर राज्यले अन्याय गरेको, उनीहरूको मानव अधिकार हनन् भएकोले क्षतिपूर्तिसमेत दिलाउने ब्यहोराको अनौठो फैसला गर्छन् । फैसलाको वाहवाहै गराउन केशरी पण्डित दिलो ज्यान दिएर लाग्छन्, दामोदर पनि मख्ख पर्छन् । त्यतिखेर भागमा परेको ५० लाखमात्र नभई अहिलेसम्म पनि पण्डित परिवारको निशुल्क उपचारको भार ग्रिनसिटीले बोकिरहेको अस्पतालको रेकर्डबाट देखिन्छ ।

युनिटीको मुद्दामा आफ्नो अलबा केशरी पण्डित र टेकनारायणले पनि छुट्टाट्टेटै सेटिङ मिलाएको कुरो दामोदरले धेरै पछि मनोजमार्फत थाहा पाउँछन् । उनी पण्डित र कुँवरसँग रिसले आगो हुन्छन् । दामोदरको स्वार्थ भएका अन्य ठूला मुद्दामा पनि पण्डित र कुँवरले गरेका डिल थाहा पाएका दामोदरको निसानामा पण्डित र कुँवर दुवै पर्छन् । टण्डनको हिमचिम त्यतिखेर न्यायका खेलाडी रहेका उपेन्द्र केशरी न्यौपानेसँग पनि हुन्छ । उनले उक्त सेटिङ र संलग्न पात्रहरूको बेलिविस्तार न्यौपानेसँग गर्छन् । न्याय परिषदमा यसको उजुरी समेत पर्छ । कारबाहीस्वरूप कुँवर ललितपुरबाट हटाइन्छन् भने पण्डित मुख्य न्यायाधीशबाटै रिटायर्ड गराइन्छन् ।

के हो हनिट्रयाप
तिलप्रसाद श्रेष्ठको प्रतिवेदनमा उल्लिखित मुद्दा जिताइदिन्छु भनी थपलियाले एम्बेसडर होटलमा रु।६० लाख बुझेपनि सर्वोच्चको राजनीतिक फेरबदलको कारण चोलेन्द्र पेन्डुलम भएपछि डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासबाट मुद्दा फैसला हुँदा तीनै तहबाट हारेपछि झगडिया महिला विक्षिप्त हुन पुग्छिन् । संयोगवस उच्च अदातलबाट तिनै महिलालाई हराउने फैसला तिलप्रसादले नै गरेका थिए । चोलेन्द्रसँगबाट मुद्दा जिताइदिन्छु भनी थपलियाले आफूसँग ६० लाख लिएको बयान ती महिलाले स्वेच्छाले नै तिलप्रसाद श्रेष्ठको समितिसमक्ष दिएकी थिइन् । यो बयानबाट आफ्नो जागिर जानसक्छ भनी थपलिया पुन उही महिलाको शरणमा जान्छन् । आफूले लिएको ६० लाख फिर्ता गर्ने र मुद्दा जिताउन नसकेकोमा थप १ करोड रुपैयाँ क्षतिपूर्ति आफूले दिने तर तिलप्रसाद समक्ष दिएको बयान बाझ्ने गरी प्रमाण बनाउन ती महिलासँग थपलियाको कुरा हुन्छ । त्यसबीच सर्वोच्च अदालतको आइटी शाखामा रही कल्याण श्रेष्ठ, सुशीला कार्की प्रधानन्यायाधीश हुँदा मुद्दा हिस्सेदार रहेका आफ्ना पुराना एजेन्ट आदर्श श्रेष्ठलाई थपलियाको खुराफाती दिमागले उपयोग गर्छ ।

आदर्श तिलप्रसादको नाता पर्ने भएकोले ती महिलासमक्ष तिलप्रसादको भेट गराइ आफूलाई थपलियाले बयान दिएबापत धम्की दिएकोले आश्वस्त हुन ढाडस दिलाउने कुरामा आदर्श सहमत हुन्छन् । लामो समय कजलिष्टसँग खेलेका खेलाडी आदर्शले तिनै महिलाको आफन्तमार्फत पदमा सङ्ग्रौला नामक महिला र तिलप्रसादको भेट गराउँछन् । थपलियाले सिकाए अनुसार तिलप्रसादकै स्वर रेकर्ड गर्ने पदमाको योजना भएपनि सरकारी वकील पृष्ठभूमिका तिलप्रसाद फोनमा कुरा गर्न डराउँछन् । महिलाको फोन आएपछि उनी मोबाइल स्वीचअफ गरी बस्छन् । धेरै प्रयासपछि पदमा आदर्श श्रेष्ठ र मानबहादुर कार्कीसँगको टेलिफोन वार्तालाप रेकर्ड गर्न सफल हुन्छिन् । उक्त वार्तालाप कार्की र आदर्शसँग भएपनि तिलप्रसादको संलग्नता देखाउन पदमाले बारम्बार तिलप्रसादको नाम लिन्छिन् । तिलप्रसाद आफ्नो घर आएको, खाना खाएको, आस्वासन दिएको जस्ता वाक्यांश पदमाले टेलिफोनमा पटकपटक उच्चारण गर्छिन् । आदर्श र मानबहादुर डराइडराइ बोलेपनि तिलप्रसाद विरुद्ध योभन्दा बढी प्रमाण जुटाउन सङ्ग्रौला सफल हुन्नन् ।

न्याय परिषदका सहसचिव रहेका मानबहादुर कार्को तिलप्रसादको छानविन समितिको सचिव हुन्छन् । उनी सरकारी वकील हुँदा नै कुस्त कमाइ जिल्ला न्यायाधिवक्ता हुँदै बुद्धनगरमा अलिसान बङ्गला ठड्याएका अर्का खेलाडी हुन् । उनी महान्यायाधिवक्ता कार्यालय अन्तर्गत छँदा राजनारायण पाठकको खास मान्छेको रूपमा चिनिएका थिए । उता त्यो अडियो रेकर्ड हात परेपछि थपलिया सुरुमा त पद्मासमक्ष काम भनेजसरी पूरा नगरेको भनी असन्तुष्ट हुन्छन्, तैपनि लहरो तान्दा पहरो थर्किने भएकोले तैँ चुप, मैँ चुपको स्थिति उत्पन्न हुन्छ । त्यही अडियो भएपनि आफ्नो जागिर जोगिन परालको त्यान्द्रोसरि सहारा हुनसक्छ भनी छानविन समिति गठन र न्याय परिषदमा आफूलाई हाजिर गराएपछि थपलियाले हनीट्रयाप शीर्षक राखी न्यूज सार्वजनिक गराउँछन् । छनविनकर्तालाई नै विवादमा ल्याइ बदनाम गराइ कतै जागि थामिन्छकि भनी थपलिया यो कार्ड फ्याँक्छन् । यदि अहिले कारबाहीबाट उम्किन वा लम्ब्याउनमात्र सकियो भने पूर्व सहमति अनुसार सपना प्रधान मल्ल न्याय परिषदमा आएपछि मुख्य न्यायाधीश खाने दाउमा थपलिया छन् ।

के हो तिलप्रसाद नवराज लफडा
तिलप्रसाद श्रेष्ठ न्याय सेवाका काबिल अधिकृत हुन् । उनी कानून, न्याय र सरकारी वकील तीनै समूहमा खुला प्रतिष्पर्धामा नाम निकाली जागिर खाएपनि संरक्षण खोज्दै अन्य जस्तै उनीपनि कल्याणको कोटरीमा पसे । उनले कल्याणको अति विश्वास पनि जिते । उनको सपना थियो कल्याणको सहारामा प्रधानन्यायाधीश बन्ने भविष्यको रोलक्रम सुनिष्चित गर्ने । छद्म भेषधारी कल्याणले तिलप्रसाद भन्दा सपना मल्ललाई नजिक ठाने, सपनाको कारण तिलप्रसादको प्रधानन्यायाधीश बन्ने सपना तुसारापात भयो । सारा दुनियालाई जानकारी भएको कल्याणको यो रहस्य सिधा तिलप्रसादले बुझेनन् । वा भनौँ उनी कल्याणलाई अति भरोसा गर्थे । कल्याण पनि तिलप्रसादलाई सोही भान पार्थे ।

कल्याणले ‘काखमा राखेर छुरी हानेको भन्दै तिलप्रसाद कल्याणसँग बिछट्टै रिसाए, बोलचालसमेत बन्द भयो । त्यसपछि पावरमा आएका चोलेन्द्रको शरणमा नपरी उनको बढुवाको सपना साकार नहुने देखी उनी उच्चकै न्यायाधीश रहेका नवराज थपलियाको माध्यमबाट चोलेन्द्रकोमा गए । उनै नवराजले मुख्य न्यायाधीश बनाउन तिलप्रसादसँग रु।३ करोड मागे । उपाय केही निस्केन, २ करोडमा डिल भयो । कानून अनुसार पद खाली भएको तीनमहिनाभित्र सिफारिस हुनुपर्ने मुख्य न्यायाधीश पदमा पद खाली नहुँदै आफूभन्दा सिनियर विनोद शर्मालगायतलाई उछिनी तिलप्रसादलाई चोलेन्द्रले मुख्य न्यायाधीश बनाए । योग्य हुँदाहुँदै कल्याणले सपना च्यापी आफूलाई धोका दिएको, युज एण्ड थ्रो गरेको, पछाडि परेको लघुताभाषमा रहेका तिलप्रसाद रोलमा आएको मुख्य न्यायाधीश हुनपनि २ करोड खर्च गर्नुपर्दा भित्रभित्रै चोलेन्द्रसँग चिढिएका थिए ।

चोलेन्द्र सर्वोच्चबाट बाहिरिएलगत्तै दीपककुमार कार्की र मीरामैया श्रेष्ठको जोडबलमा दिलेन्द्रप्रसाद बडु कानूनमन्त्री भएको बेलामा सर्वोच्च आउन सफल भए । चोलेन्द्रसँग २ करोडमा डिल गराउँदा चोलेन्द्रसँग आफ्नो प्रभाव देखाउन थपलियाले तिलप्रसादसँग गफ लगाउँदा ओकलेका मुद्दामा आफूले सिधै चोलेन्द्रसँग घुस पुर्‍याउने, मुद्दा जिताइदिने पहुँचको गफ तिलप्रसादलाई झल्झल्ति याद थियो । त्यही बदला लिन र थपलियालाई ठेगान लगाउन उनले सदस्यसचिव मानबहादुर कार्की र आइटीमा कामगर्ने आदर्श श्रेष्ठमार्फत पीडित महिलासम्म पहुँच पुर्‍याए । ती महिलालाई आस्वस्त पारी थपलियाको बयान रेकर्ड गराए । प्रतिवेदन न्याय परिषदमा बुझाए । थपलियाको जागिर धरापमा पर्‍यो । तर कागको फूल चोर्ने थपलियाको अगाडि उनको के चल्थ्यो र उनै थपलियाले फिल्मी शैलीमा पासा पल्टाइदिए उल्टै तिलप्रसादकै विरुद्ध पीडित भनिएकी महिलालाई उकासेर ।

“हनीट्रयाप” काण्डले थपलियाको न्यायाधीशको पद सुरक्षित नभएको एकजना वरिष्ठ अधिवक्ता बताउँछन् । उनको भनाइमा तिलप्रसाद मान्छे त काबिल हुन् तर थपलियामार्फत चोलेन्द्रलाई पैसा बुझाइ बढुवा हुनुपर्दाको चोटको बदलाको भावना उनमा परेको छ ।

प्रतिक्रिया