८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

भारतको ७७औं स्वतन्त्रता दिवसमा भारतीय राजदूतावासमा विविध कार्यक्रम, गार्खा सैनिकका परिवारलाई ५ करोड ३३ लाख


August 15, 2023
0
Shares

काठमाडौं, ३० साउन । भारतको ७७औं स्वतन्त्रता दिवसमा लैनचौरस्थित भारतीय राजदूतावासमा विविध कार्यक्रम आयोजना भएको छ ।

भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’ कै एक हिस्साको रुपमा यसलाई लिइएको भारतीय राजदूतावासले जनाएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै समारोहको शुभारम्भ भएको थियो । श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना दिए ।

कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । राष्ट्रपतिले आफ्नो सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरुले गरेका बलिदानको स्मरण गरे र देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरुबारे चर्चा गरे ।

राष्ट्रपतिले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको बताए । साथै विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवद्र्धन गर्न भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेष गरी जी–२० को अध्यक्षताबारे उल्लेख गरे ।

दूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ३३ लाख रकम वितरण गरी सम्मान गरेको छ ।

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरे ।

प्रतिक्रिया