बंगलादेशमा राजनीतिक प्रतिशोध : पूर्वप्रमुख युनुसको घर र बैंकका शाखामा आगो
काठमाडौं । बंगलादेशमा राजनीतिक तनाव चर्किँदै जाँदा राजधानी ढाकासहित विभिन्न सहरमा आगजनी र बम विस्फोटका घटना भएका छन् । प्रदर्शन र हिंसात्मक गतिविधिका क्रममा पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको चटगाउँस्थित घर तथा उनीसँग सम्बन्धित ग्रामीण बैंकका विभिन्न शाखामा आगजनी गरिएको छ ।
विशेषगरी राजधानी ढाका, सिलहट, राजशाही, बारीसाल र फरिदपुरमा आगजनीका घटना बढी भएको बताइएको छ । त्यस्तै, ढाकामा अवामी लिगका दुई नेताको घरमा बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी० का कार्यकर्ताले आगो लगाएको समाचारमा उल्लेख छ ।
हिंसात्मक घटनामा हालसम्म दुई जनाको मृत्यु भएको छ भने आधा दर्जनभन्दा बढी घाइते भएका छन् । विभिन्न स्थानमा भएका आगजनी र विस्फोटका कारण जनजीवन प्रभावित बनेको छ ।
दुई वर्षअघि सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी अवामी लिगकी नेतृ तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेसँगै बंगलादेशमा तनाव बढेको हो । हसिनामाथि मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले एकपक्षीय सुनुवाइ गर्दै मृत्युदण्डको सजाय सुनाइसकेको छ ।
यसैबीच, हसिनाको पार्टी अवामी लिगले देशव्यापी लकडाउन आह्वान गरेपछि हिंसात्मक गतिविधि थप चर्किएको बताइएको छ ।
यता, बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले अवामी लिगलाई ‘आतंकवादी संगठन’ र ‘पराजित फासिस्ट शक्ति’ को संज्ञा दिएका छन् । सन् २०२४ मा हसिना नेतृत्वको सरकार ढलेपछि मोहम्मद युनुसको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो ।
राजनीतिक दलहरूबीचको बढ्दो टकराव र प्रतिशोधपूर्ण गतिविधिले बंगलादेशको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ ।


