३ मंसिर २०८३, बिहिबार | November 19, 2026

मलेसिया जाने श्रमिक ठगी प्रकरण : पक्राउ पुर्जी जारी भएपछि पूर्वमुख्यसचिव अर्याल फरार


November 19, 2026
0
Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ पुर्जीका आधारमा अर्याललाई नियन्त्रणमा लिन खोजे पनि उनी फेला नपरेका हुन् ।

सीआईबीका अनुसार अर्यालको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ । उनी देशबाहिर गएको सूचना प्राप्त भएको ब्यूरोले जनाएको छ ।

‘हाम्रो टोलीले उहाँलाई खोजिरहेको छ, तर उहाँ भागेर देशबाहिर जानुभएको भन्ने सूचना पाएका छौँ’, सीआईबीको भनाइ छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव तथा तत्कालीन सचिव विनोद केसीसहितका कर्मचारी छन् ।

उक्त निर्णय भएको समयमा अर्याल श्रम सचिवको जिम्मेवारीमा थिए । सोही प्रकरणमा उनको संलग्नता रहेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो ।

त्यस्तै, प्रहरीले रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले घटनामा संलग्नता रहेको आशंकामा तत्कालीन उच्चपदस्थ अधिकारीहरूमाथि अनुसन्धान अघि बढाएको छ । पक्राउ पुर्जी जारी हुनु वा अनुसन्धानमा तानिनु मात्रै कसुर प्रमाणित हुनु भने होइन ।

प्रतिक्रिया