१ मंसिर २०८३, मंगलबार | November 17, 2026

एक दिनमै सकिने बालेनको भारत भ्रमण


November 17, 2026
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण एक दिनमै सीमित हुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री शाह मंसिर ६ गते दिल्ली प्रस्थान गरी मंसिर ७ गते औपचारिक भेटवार्ता सकेर स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहसहितको नेपाली प्रतिनिधिमण्डल मंसिर ६ गते नेपाल एयरलाइन्सको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ। भ्रमणको पहिलो दिन नेपाली दूतावासले आयोजना गर्ने जलपान समारोहमा प्रधानमन्त्री सहभागी हुने सम्भावना रहे पनि कार्यक्रमको अन्तिम टुंगो लागिसकेको छैन।

भ्रमणको मुख्य कार्यक्रम भने मंसिर ७ गते हुनेछ। उक्त दिन प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। सोही क्रममा मोदी र शाहबीच एक्लाएक्लै भेटवार्ता पनि हुने बताइएको छ।

त्यसैगरी, भारतका विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

यसपटकको भ्रमणमा प्रधानमन्त्री शाहको दिल्लीबाहिर अन्य भारतीय सहर वा प्रदेशमा जाने कार्यक्रम नरहेको बुझिएको छ। यसअघि नेपालका प्रधानमन्त्रीको राजकीय भ्रमणका क्रममा दिल्लीमा उच्चस्तरीय भेटवार्तापछि अन्य प्रदेशको भ्रमण गर्ने अभ्याससमेत देखिने गरेको थियो।

तर, प्रधानमन्त्री शाहको यो भ्रमण भने औपचारिक भेटवार्ता र द्विपक्षीय संवादमै केन्द्रित हुने देखिएको छ। एक दिनमै प्रमुख राजनीतिक भेटवार्ता सकेर स्वदेश फर्किने गरी तय भएको भ्रमणलाई नेपाल–भारत सम्बन्धका आगामी प्राथमिकता र द्विपक्षीय सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया