रास्वपाभित्रै विदेश भ्रमणको विरोध,कुर्सीमा पुगेपछि विदेश नै किन प्यारो ?
हिजो अरू पार्टीका नेताहरू विदेश घुम्न जाँदा प्रश्न उठाउने रास्वपाका नेताहरू आज आफैँ विदेश भ्रमणमा निस्किएपछि आफ्नै पार्टीभित्र विरोध सुरु भएको छ। कसैले सरकारी खर्चको हिसाब मागेका छन्, कसैले विदेश भ्रमणको औचित्य खोजेका छन् त कसैले व्यंग्य गर्दै भनेका छन्– कुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ । आखिर के हुँदैछ रास्वपाभित्र ?
सुरु गरौँ सांसद गणेश कार्कीबाट । उनले टर्कीमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा सहभागी हुन गएका नेपाली प्रतिनिधिमण्डलसँग खर्चको स्रोत सार्वजनिक गर्न माग गरेका छन्। उनको स्पष्ट प्रश्न छ– सरकारी खर्चमा गएका हुन् कि आफ्नै खर्चमा रु भ्रमणमा जानेहरूले यो कुरा सार्वजनिक गर्नैपर्छ। अर्की सांसद ज्वाला संग्रौला पनि विदेश भ्रमणको प्रवृत्तिप्रति असन्तुष्ट देखिएकी छन्।
उनले हुल बाँधेर विदेश भ्रमण गर्नु देश र जनताको हितविपरीत भएको टिप्पणी गरेकी छन्। उनको प्रश्न झन् पेचिलो छ– हिजो अरूले विदेश भ्रमण गर्दा गलत हुने, आज आफ्नै पार्टीका नेताहरूले गर्दा कसरी सही हुन्छ ? राज्यको ढुकुटी खर्च गरेर भ्रमण गरिएको हो भने त्यो हिजो पनि गलत थियो, आज पनि गलत नै हुने उनको तर्क छ। यतिमै रोकिँदैन असन्तुष्टि। सांसद आशिका तामाङले संसदीय समितिको नाममा हुने विदेश भ्रमणको उद्देश्य र उपलब्धिमाथि प्रश्न उठाएकी छन्। राज्यको लाखौँ रुपैयाँ खर्च गरेर गरिने भ्रमणबाट देशले के पायो रु जनताले त्यसको हिसाब जान्न पाउनुपर्छ कि पर्दैन ? भ्रमणको उपलब्धि समुद्री किनारमा फोटो खिच्ने र टिकटक बनाउने मात्रै त होइन ? उनको टिप्पणीको आशय यही छ।
अझ प्रधानमन्त्री बालेन्द्र शाह निकट मानिने सांसद राजु पाण्डेको व्यंग्य त झन् चर्चामा छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘कुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ। अचम्म लाज पनि लजायो कि ? कुरीकुरी । जय मातृभूमि नेपाल।’ रोचक कुरा के छ भने, रास्वपाका यी सांसदहरूले विदेश भ्रमणमाथि प्रश्न उठाइरहेका बेला पार्टीकै महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली ११ दिने चीन भ्रमणमा निस्किएको छ। उता, कोप–३१ मा सहभागी हुन पाँच जना मन्त्री टर्की पुगेका छन्।
प्रश्न विदेश जानु हुँदैन भन्ने होइन। प्रश्न हो– किन जाने ? के सिक्ने ? देशले के पाउने ? अनि भ्रमणको खर्च कसले बेहोर्ने ? विदेश भ्रमणबाट प्रविधि, ज्ञान र विकासको अनुभव ल्याउनु सकारात्मक हुन सक्छ। तर त्यसको उपलब्धि जनताले देख्न र महसुस गर्न पाउनुपर्छ। हिजो अरूलाई प्रश्न गर्नेहरू आज आफैँ प्रश्नको घेरामा छन्। राजनीतिमा प्रतिपक्षमा हुँदा उठाइएका प्रश्न सत्ता र शक्तिमा पुगेपछि बिर्सन मिल्दैन। किनकि जनताले नेता विदेश गएको फोटो होइन, विदेशबाट फर्किएपछि देशमा आएको परिवर्तन हेर्न चाहेका छन्। रास्वपाका सांसदहरूले उठाएका यी प्रश्नको जवाफ पार्टी नेतृत्वले दिन्छ कि दिँदैन ? अब चासो त्यसमै छ।




