१०.५०% लाभांश पारित गर्दै कोष व्यवस्थापन कम्पनीको १०औँ साधारण सभा सम्पन्न
काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडको दशौँ वार्षिक साधारण सभा आज काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन पारित गर्नुका साथै शेयरधनीलाई १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
सभाले कम्पनीको पूँजी वृद्धि योजनासहित प्रस्तुत प्रस्तावहरू पारित गरेको छ। कम्पनीको संस्थागत विकास तथा आगामी कार्यदिशाका लागि पूँजी वृद्धि योजनालाई महत्वपूर्ण रूपमा लिइएको छ।
सभाको अध्यक्षता कम्पनीका सञ्चालक समिति अध्यक्ष सुशील हुमागाईँले गर्नुभएको थियो। कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू सरिता कुमारी पोखरेल, नारायण प्रसाद आचार्य, बलराम पौडेल र दिल बस्नेतको उपस्थिति रहेको थियो। सभामा कम्पनीको प्रमुख संस्थापक कृषि बिकास बैकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरूङ, लेखापरीक्षक CA मुरलीधर तिवारी, कम्पनी रजिस्ट्रारको कार्यालयका प्रतिनिधि तथा कृषि विकास बैंकका तर्फबाट हेमलाल पौडेलको प्रतिनिधित्व रहेको थियो। साथै सो सभाको संचालन कम्पनीका कम्पनी सचिब राजेन्द्र पराजुलीले गर्नु भएको थियोे ।
साधारण सभामा शेयरधनीहरूको तर्फबाट एकबहादुर बस्नेत, जनार्दन बाबु कट्टेल र डा. राजन थापाले कम्पनीको वित्तीय अवस्था, कार्यसम्पादन तथा आगामी योजनाका सम्बन्धमा आ–आफ्ना धारणा राख्नुभएको थियो।
त्यसैगरी, संस्थापक बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कम्पनीमा अवसर संगसंगै चुनौतीहरू रहेले आगामी दिनमा थप लाभांश दिनेगरी संचालन गर्न शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कम्पनीको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ३४ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ६२ लाख ७९ हजार रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति ३४ करोड ८२ लाख रुपैयाँबाट वृद्धि भई ३६ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पूँजी ३ करोड १० लाख ४८ हजार रुपैयाँ रहेको छ। सोही पूँजीका आधारमा १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित भएको हो। कम्पनीको लगानी पोर्टफोलियोको कुल उचित मूल्य करिब ३५ करोड १४ लाख रुपैयाँ रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
कृषि विकास बैंक लिमिटेडद्वारा स्थापित तथा प्रवर्द्धित कम्पनीले बैंक निक्षेप, ऋणपत्र, विभिन्न कम्पनीका शेयर, म्युचुअल फण्डलगायतका क्षेत्रमा लगानी व्यवस्थापन गर्दै आएको छ। कम्पनीले आगामी दिनमा आफ्नो लगानी व्यवस्थापन तथा संस्थागत क्षमता अभिवृद्धिमा जोड दिने प्रतिवद्दता जनाएको छ।


