२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

चीन भ्रमणमा रास्वपाका २० सांसद, ११ दिनसम्म विभिन्न सहरको अवलोकन गर्ने


November 15, 2026
0
Shares

काठमाडौं, २९ कात्तिक । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीसहित २० सदस्यीय प्रतिनिधिमण्डल ११ दिने भ्रमणका लागि चीन प्रस्थान गरेको छ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आइतबार चीन प्रस्थान गरेको हो । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा गएको प्रतिनिधिमण्डललाई रास्वपा प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

भ्रमण टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित २० जना सांसद सहभागी छन् । टोलीमा लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा। आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा। धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा। राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा। सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा छन् ।

चीन भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका सहरको अवलोकन गर्ने कार्यक्रम छ । भ्रमणलाई राजनीतिक सम्बन्ध विस्तारसँगै चीनले प्रविधि, नवप्रवर्तन, औद्योगिक विकास र सार्वजनिक सेवा प्रवाहमा हासिल गरेको प्रगतिको अध्ययनसँग जोडिएको छ ।

रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुखसमेत रहेका टोली सदस्य डा। आनन्दबहादुर चन्दले चीनको प्रविधि र नवप्रवर्तनसम्बन्धी अनुभव नेपालको आवश्यकताअनुसार उपयोग गर्ने सम्भावनाबारे अध्ययन गरिने बताए ।

उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, डिजिटल प्रविधि र औद्योगिक विकासका क्षेत्रमा चीनले हासिल गरेका उपलब्धि, अवलम्बन गरेका नीति तथा संस्थागत अभ्यासबारे जानकारी लिने टोलीको विशेष रुचि छ ।

चीनको अनुभवलाई कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा, शिक्षा, सार्वजनिक सेवा प्रवाह, औद्योगिक उत्पादन र उद्यमशीलताको विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि अध्ययन तथा विचार आदानप्रदान गरिने उनले बताएका छन् ।

त्यस्तै, टोली सदस्य डा। धनञ्जय रेग्मीले भ्रमणले नेपाल र चीनबीच आपसी समझदारी तथा आत्मीय सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । आर्थिक, प्राविधिक र विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार पार्नुका साथै आगामी उच्चस्तरीय भ्रमणका लागि समेत भ्रमण फलदायी हुने उनको अपेक्षा छ ।

चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो ।

११ दिनसम्म चल्ने यो भ्रमणलाई रास्वपाले चीनको विकास अनुभव, प्रविधि र नीतिगत अभ्यास बुझ्ने तथा दुई देशबीचको राजनीतिक र विकास साझेदारीलाई थप विस्तार गर्ने अवसरका रूपमा लिएको छ ।

प्रतिक्रिया