२८ कार्तिक २०८३, शनिबार | November 14, 2026

कोप–३१ मा जाने सांसददेखि सरकारी प्रतिनिधिसम्मले खर्चको स्रोत खुलाउनुपर्ने गणेश कार्कीको माग


November 14, 2026
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा सहभागी हुन टर्की पुगेका नेपाली प्रतिनिधिहरूले आफ्नो भ्रमण खर्चको स्रोत सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

कार्कीले कोप–३१ मा सहभागी हुनेहरूले सरकारी खर्चमा गएका हुन् वा व्यक्तिगत खर्चमा भन्ने कुरा स्पष्ट रूपमा घोषणा गर्नुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कोपमा सहभागी हुने नाममा व्यक्तिगत इच्छालाई सरकारी खर्चमा पूरा गर्न नपाइने टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘कोपमा जानेहरू दर्जनौँ हुन्छन् । साह्रै धेरै व्यक्तिगत खर्चमा, कुनै संस्थाको प्रायोजनमा कोपमा पुग्छन् । तर त्यसो भन्दैमा व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न कसैले पनि पाइँदैन ।’

वातावरणका विद्यार्थी, अनुसन्धानकर्ता तथा जलवायु परिवर्तनका विषयमा चासो राख्नेहरूका लागि कोप सम्मेलन सिक्ने र बुझ्ने महत्वपूर्ण अवसर भए पनि सबैको सहभागिता सरकारी खर्चमा हुनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ ।

कार्कीले सम्मेलनमा सहभागी हुँदैमा निर्णय तथा छलफल प्रक्रियामा प्रत्यक्ष भूमिका नहुने भएकाले त्यहाँ जानैपर्ने बाध्यता पनि नरहेको उल्लेख गरेका छन् ।

‘सधैँ झैँ यसपालि पनि कोपमा जानेहरूको लर्को छ । वातावरणको विद्यार्थी र सांसद पनि भएकाले धेरै साथीहरू कोपका लागि टर्किए पुगेको, पुग्दै गरेको देख्छु,’ उनले लेखेका छन्, ‘जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरून् । गर्नैपर्छ ।’

उनको यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिहरूको भ्रमण खर्च, सरकारी स्रोतको प्रयोग र त्यसको पारदर्शितामाथि बहस उठाएको छ ।

टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजना भइरहेको कोप–३१ मा जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन, जलवायु वित्त, हानि तथा क्षतिपूर्ति र स्वच्छ ऊर्जा संक्रमणलगायतका विषयमा विश्वव्यापी छलफल भइरहेको छ ।

जलवायु परिवर्तनको जोखिम भोगिरहेको नेपालका लागि यस्तो सम्मेलन महत्वपूर्ण मानिए पनि त्यसमा सहभागी हुने प्रतिनिधिहरूको खर्च र सहभागिताको औचित्य पारदर्शी हुनुपर्ने सांसद कार्कीको माग छ ।

प्रतिक्रिया