२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–को बने न्यायाधीश ?


November 13, 2026
332
Shares

काठमाडौं । सर्वोच्च अदालतमा चारजना नयाँ न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइबाट अनुमोदित चारजनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार नियुक्त हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी रहेका छन्।

न्यायाधीश नियुक्तिको प्रक्रिया गत असोज २० गतेबाट सुरु भएको थियो। उक्त दिन बसेको न्याय परिषद्को बैठकले चारैजनाको नाम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

त्यसपछि संसदीय सुनुवाइ समितिले कात्तिक २१ गते चारैजनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। समितिबाट नाम अनुमोदन भएपछि संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।

चार नयाँ न्यायाधीशको नियुक्तिसँगै सर्वोच्च अदालतको न्यायिक नेतृत्व तथा कार्यसम्पादनमा थप जनशक्ति उपलब्ध भएको छ।

प्रतिक्रिया