२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

देवरको कुटपिटबाट घाइते भाउजूको तीन दिनपछि मृत्यु


October 15, 2026
498
Shares

मृतकका श्रीमान् र तीन छोराछोरीले समेत उनलाई आक्रमणबाट जोगाउन सकेनन्

गुल्मी । गुल्मीमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी ४२ वर्षीया महिलाको तीन दिनपछि उपचारका क्रममा मृत्यु भएको छ। मालिका गाउँपालिका–२, खोलाखर्ककी लिला खत्रीको मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरेर आएका ४६ वर्षीय देवर बलबहादुर खत्रीले असोज २५ गते साँझ भाउजू लिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

घटनालगत्तै प्रहरीले लिलालाई उपचारका लागि पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल पुर्‍याएको थियो। तीन दिनसम्म उपचाररत उनलाई असोज २८ गते बिहान छोरा हिराबहादुर खत्रीले घर लैजाने भन्दै अस्पतालबाट लगेका थिए।

तर, बाटोमै स्वास्थ्य अवस्थाबारे शंका उत्पन्न भएपछि परिवारले उनलाई गुल्मी अस्पताल, तम्घास पुर्‍याएको थियो। अस्पतालमा जाँच गर्दा चिकित्सकले सोही दिन दिउँसो उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा कुटपिटमा बलबहादुर संलग्न रहेको खुलेपछि उनका बुबालाई छाडिएको थियो भने बलबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी पठाइएको थियो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकीरण बोगटीका अनुसार बलबहादुरविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

मालिका गाउँपालिका–२ का वडाध्यक्ष विनोद श्रीसका अनुसार बलबहादुरको पहिलेबाटै मानसिक अवस्था असन्तुलित रहेको र मदिरा सेवनपछि झगडा गर्दै भाउजूलाई आक्रमण गरेको बताइएको छ। घटनाका बेला घरमै रहेका मृतकका श्रीमान् र तीन छोराछोरीले समेत उनलाई आक्रमणबाट जोगाउन नसकेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया