‘भोलि म पक्राउ परेँ भने पनि बचाउन नआउनु’: गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले व्यक्तिगत आरोप र गैरकानुनी काममा संलग्न व्यक्तिको बचाउमा पार्टी उभिन नसक्ने स्पष्ट पारेका छन्। उनले आफू सभापति भए पनि व्यक्तिगत गल्ती गरे कानुनी कारबाहीबाट उन्मुक्ति पाउन नहुने बताएका छन्।
सभापति पदमा पुनः निर्वाचित भएपछि शनिबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका थापाले नेता–कार्यकर्तालाई सम्बोधन गर्दै कानुनी शासन र भ्रष्टाचारविरुद्धको शून्य सहनशीलतामा कांग्रेस दृढ रहेको बताए।
केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरेकी विनिता खड्का ठगी आरोपमा पक्राउ परेको प्रसङ्गतर्फ सङ्केत गर्दै थापाले कुनै पनि व्यक्तिमाथि लागेको आरोपको खण्डन गर्ने र दाग मेटाउने जिम्मेवारी सम्बन्धित व्यक्तिकै हुने बताए।
‘दाग लागेको छ भने आफैंले मेटाउने हो,’ उनले भने, ‘अरू कसैलाई पनि व्यक्तिगत कारणले कुनै आरोप लाग्छ भने त्यसलाई कांग्रेसले बोक्दैन।’
थापाले व्यक्तिगत कारणले आफूमाथि नै आरोप लागे पनि पार्टीका नेता–कार्यकर्ताले बचाउमा बोल्न आवश्यक नरहेको बताए। उनले राजनीतिक विषयभन्दा बाहिरका आर्थिक वा पारिवारिक मामिलामा आफू विवादमा परे त्यसको जिम्मेवारी पनि व्यक्तिगत रूपमा आफैंले लिनुपर्ने स्पष्ट पारे।
‘भोलि व्यक्तिगत कारणले मै पक्राउ परेँ भने पनि कोही नआउनुहोला,’ थापाले भने, ‘सानालाई जे कानुन लाग्छ, ठूलालाई पनि त्यही कानुन लाग्नुपर्छ।’
उनले राजनीतिक दलहरूले व्यक्तिका निजी गल्ती र अपराधको भार बोक्ने प्रवृत्तिबाट अलग रहनुपर्नेमा जोड दिए। गैरकानुनी काम गर्ने जोसुकैले पनि आफ्नो कर्मको परिणाम आफैं भोग्नुपर्ने उनको भनाइ थियो।
सभापति थापाको यो अभिव्यक्तिले पार्टीभित्र व्यक्तिगत आरोप र कानुनी कारबाहीका विषयमा संस्थागत बचाउ नगर्ने उनको धारणा सार्वजनिक गरेको छ। उनले भ्रष्टाचारविरुद्धको प्रतिबद्धतालाई व्यवहारमा लागू गर्न कानुन सबैका लागि समान हुनुपर्ने सन्देशसमेत दिएका छन्।


