नेपाली पेनको प्रभावः पूर्वराष्ट्रपति भण्डारीको सुरक्षाबाट सैनिक फिर्ता गर्ने तयारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिमा सक्रिय पुनरागमनसँगै उनले पूर्वराष्ट्रप्रमुखका रूपमा पाउँदै आएको सुरक्षा र सुविधाको विषय फेरि चर्चामा आएको छ। यसैबीच, उनको सुरक्षामा खटिएका सैनिक फिर्ता गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
पूर्वराष्ट्रपति भण्डारीको सुरक्षा र सुविधाबारे राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नेपाली पेन डटकममार्फत सरकार र नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएपछि यो विषयले थप चर्चा पाएको हो।
रायमाझीको ‘पूर्वराष्ट्रपतिको सुविधा र सेनाको सुरक्षामाथि रायमाझीको प्रश्न– ‘दलीय विकृतिको भारी नेपाली सेनाले बोक्ने होइन’ शीर्षकको समाचारमा पूर्वराष्ट्रप्रमुखका रूपमा प्राप्त सुविधा र सुरक्षाबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरिएको थियो।
रायमाझीले पूर्वराष्ट्रपति भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएपछि पनि उनलाई पूर्वराष्ट्रप्रमुखका रूपमा उपलब्ध गराइने सुरक्षा तथा सुविधा निरन्तर राख्नु उपयुक्त नहुने तर्क गरेका थिए। उनले राजनीतिक दलको सक्रिय जिम्मेवारीमा रहेका व्यक्तिको सुरक्षामा राज्यका सुरक्षा निकाय परिचालन गर्ने व्यवस्थामाथि प्रश्न उठाउँदै सरकारले तत्काल निर्णय लिनुपर्ने बताएका थिए।
भण्डारीको सुरक्षामा खटिएका सैनिक फिर्ता गर्ने विषयमा अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्न सक्ने सरकारी स्रोतलाई उद्धृत गर्दै दाबी गरिएको छ। यद्यपि, यस विषयमा मन्त्रिपरिषद्को औपचारिक निर्णय सार्वजनिक भएको पुष्टि भएको छैन।
रायमाझीले उठाएको मुख्य प्रश्न पूर्वराष्ट्रप्रमुखको हैसियतमा प्राप्त हुने सुरक्षा र सुविधा तथा सक्रिय दलीय राजनीतिबीचको सम्बन्ध हो। उनका अनुसार राजनीतिक दलको सक्रिय राजनीतिमा फर्किएका व्यक्तिका लागि राज्यले उपलब्ध गराउने सुरक्षा व्यवस्थाबारे सरकारले स्पष्ट मापदण्ड बनाउनुपर्छ।
नेपाली पेन डटकममा प्रकाशित समाचारले उठाएको यो विषय अब सरकारको सम्भावित निर्णयसँग जोडिएको छ। तर सैनिक फिर्ता गर्ने निर्णय वास्तवमै हुन्छ कि हुँदैन भन्ने विषय मन्त्रिपरिषद्को औपचारिक निर्णय र सरकारको आधिकारिक धारणापछि मात्रै स्पष्ट हुनेछ।


