२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

पोखरामा स्कुल बस दुर्घटना : लिफ्ट मागेर चढेका ६५ वर्षीय बाबुरामसहित ५ जनाको मृत्यु


October 9, 2026
83
Shares

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ मा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उपचारका लागि जान बसमा लिफ्ट मागेर चढेका ६५ वर्षीय बाबुराम तिवारीसमेत छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार दुर्घटनामा परी मृत्यु हुने विद्यार्थीमा ममता तिवारी, असिम कँडेल र नामथर नखुलेका दुई बालिका छन्। मृतक विद्यार्थीको उमेर करिब १३ देखि १४ वर्ष रहेको प्रहरीले जनाएको छ।

बाबुराम तिवारी पोखरा–२८ का स्थानीय बासिन्दा हुन्। उनी उपचारका लागि जाने क्रममा बसमा लिफ्ट मागेर चढेको प्रारम्भिक विवरण प्रहरीले दिएको छ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका–२८ माइलथानबाट कालिकातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा परी घाइते भएका विद्यार्थी तथा बस चालकको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

गण्डकी मेडिकल कलेजमा उपचाररत तीन जना विद्यार्थीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूमा पोखरा–२८ सौर्यका १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापामगर र डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिना छन्।

त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा १० जना घाइतेको उपचार भइरहेको छ। उनीहरूमध्ये १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेको अवस्था मध्यम रहेको र केहीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा १४ वर्षीया स्नेहा गौतम, १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगर छन्।

दुर्घटनामा बस चालक ५७ वर्षीय तुलबहादुर गुरुङसमेत घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे भने विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया