२८ भदौ २०८३, आइतबार | September 13, 2026

सिटी सफारीले ठक्कर दिएर वृद्धलाई सडकमा छाडेर भाग्ने चालक पक्राउ, उपचार नपाउँदै मृत्यु


September 13, 2026
249
Shares

विराटनगर । सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका ८२ वर्षीय वृद्धलाई अस्पताल पुर्‍याउनुको साटो सडकमा छाडेर चालक फरार भएपछि उनको उपचार अभावमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगरका ८२ वर्षीय तीर्थराज बस्नेत रहेका छन् । उनलाई सोमबार बिहान विराटनगरको ठाकुरबाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले ठक्कर दिएको थियो ।

दुर्घटनापछि स्थानीयले घाइते बस्नेतलाई उद्धार गरी सोही सफारीमा राखेर उपचारका लागि अस्पताल पठाएका थिए । तर, अस्पताल लैजाने क्रममा चालक ५५ वर्षीय अर्जुन भगतले विराटनगरस्थित मालपोत कार्यालय अगाडि सडकमा वृद्धलाई छाडेर फरार भएको प्रहरीले जनाएको छ ।

मालपोत कार्यालयबाट कोशी अस्पतालको दूरी करिब एक सय मिटर मात्रै रहे पनि चालकले घाइतेलाई अस्पताल भर्ना नगराई सडकमा छाडेर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कविन कट्टुवालका अनुसार दुर्घटनामा घाइते भएका बस्नेत केही समयपछि मालपोत कार्यालय नजिकै सडकमा मृत अवस्थामा भेटिएका थिए । दुर्घटना भएको स्थान र शव भेटिएको स्थानबीचको दूरी करिब एक किलोमिटर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेलाई समयमै अस्पताल पुर्‍याएर उपचार गराइएको भए उनको ज्यान जोगिन सक्ने अवस्था थियो । तर, चालकले अस्पताल नलगी सडकमा छाडेर फरार भएपछि उपचार नपाउँदै वृद्धको मृत्यु भएको हो ।

घटनापछि प्रहरीले सिटी सफारीसहित फरार चालक भगतको खोजी तीव्र बनाएको थियो । खोजीका क्रममा बिहान करिब ८ः३० बजे मोरङको कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरबाट भगत पक्राउ परेका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया