२७ भदौ २०८३, शनिबार | September 12, 2026

मधेश सरकारको निर्देशन : अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउनू


September 12, 2026
0
Shares

जनकपुरधाम । मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन स्वास्थ्य निकायहरूलाई निर्देशन दिएको छ।

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गतका विभिन्न स्वास्थ्य निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०८३र०८४ का लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत कर्मचारीलाई अन्यत्र कामकाजमा खटाउने वा अर्को कार्यालयमा हाजिर गराउने कार्य नगर्न निर्देशन दिएको हो।

मन्त्रालयका अधिकृत सातौं बच्चेलाल साह तेलीले हस्ताक्षर गरेको पत्रमा २०८३ असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अन्यत्र कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको उल्लेख छ।

प्रदेश मन्त्रिपरिषद्को २०८३र०४र२८ गतेको निर्णयअनुसार अस्थायी दरबन्दीसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ। सोही निर्णयका आधारमा सम्बन्धित स्वास्थ्य निकायलाई पत्राचार गर्दै निर्देशन अनिवार्य रूपमा पालना गर्न भनिएको हो।

मन्त्रालयको पत्र प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय तथा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूमा पठाइएको छ।

मन्त्रालयले अस्थायी दरबन्दीमा कार्यरत कर्मचारीको कामकाज तथा हाजिरीसम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्न निर्देशन जारी गरिएको जनाएको छ। निर्देशनअनुसार हाल अस्थायी दरबन्दीमा रहेका कर्मचारीलाई सम्बन्धित कार्यालयमै हाजिर गराउनुपर्नेछ।

प्रतिक्रिया