ज्येष्ठ नागरिकको घरदैलोमै सरकार : काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या
काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले काठमाडौंमा बस्दै आएका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै काठमाडौंमै पुगेर सामाजिक सुरक्षा भत्ता अर्थात् वृद्धभत्ता नवीकरण सेवा प्रदान गरेको छ।
पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामशरण श्रेष्ठको नेतृत्व तथा गाउँपालिकाका पाँचवटै वडाका वडा सचिवहरूको सहकार्यमा काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा शिविर सञ्चालन गरी ज्येष्ठ नागरिकको वृद्धभत्ता नवीकरण गर्ने कार्य भइरहेको हो।
गाउँमा पुगेर भत्ता नवीकरण गर्नुपर्ने बाध्यता, भौगोलिक कठिनाइ, पारिवारिक व्यस्तता तथा पछिल्लो समय नुवाकोटलगायतका क्षेत्रमा आएको बाढीपहिरोका कारण आवतजावतमा देखिएको समस्यालाई मध्यनजर गर्दै काठमाडौंमै सेवा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।
पञ्चकन्या गाउँपालिकाका विभिन्न वडाका नागरिकहरू रोजगारी, व्यवसाय तथा अन्य कारणले काठमाडौंमा बस्दै आएका छन्। उनीहरूसँगै गाउँमा रहेका ज्येष्ठ नागरिक बुवाआमा पनि काठमाडौंमा छोराछोरीसँग बस्ने गरेका कारण सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि गाउँसम्म पुग्न कठिनाइ हुने गरेको थियो।
यही समस्यालाई ध्यानमा राख्दै भदौ २३ गतेदेखि सुरु भएको नवीकरण सेवा भदौ २६ गतेसम्म चार दिन सञ्चालन हुने जनाइएको छ। तारकेश्वर नगरपालिका क्षेत्रमा रहेको गुम्बा नजिकैको अनुपम पार्टी प्यालेसमा सेवा केन्द्र स्थापना गरी ज्येष्ठ नागरिकलाई निःशुल्क तथा सहज रूपमा वृद्धभत्ता नवीकरण सेवा प्रदान भइरहेको छ। भदौ २५ गतेसम्म मात्रै करिब ६५० भन्दा बढी ज्येष्ठ नागरिकले वृद्धभत्ता नवीकरण सेवा प्राप्त गरिसकेका छन्।
सेवा लिन आएकी मानकुमारी उप्रेतीलाई उहाँकी बुहारी सावित्री बस्नेतले नवीकरणका लागि लिएर आएकी थिइन्। गाउँमै पुगेर नवीकरण गर्नुपर्ने अवस्था भएको भए आफूलाई निकै कठिन हुने बताउँदै उप्रेतीले काठमाडौंमै सेवा पाउँदा खुसी व्यक्त गरिन्।
वडा अध्यक्ष रामशरण श्रेष्ठ आफैं फिल्डमा खटिएर सेवा सहजीकरण गरिरहेका छन् भने गाउँपालिकाका पाँचवटै वडाका वडा सचिवहरूको उपस्थितिले सेवाग्राहीलाई सहज भएको छ। नागरिकको सहजता नै स्थानीय सरकारको प्राथमिकता हुनुपर्छ भन्ने भावका साथ गरिएको पञ्चकन्या गाउँपालिकाको यो पहलले काठमाडौंमा रहेका नुवाकोटका ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारलाई प्रत्यक्ष राहत पुगेको छ।



