३६ घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पौने २ अर्ब सहयोग
काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सरकारले आह्वान गरेको सहयोगमा देशभरबाट उत्साहजनक साथ जुटेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरिएको ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वटा वाणिज्य बैंकमा रहेका कोषका खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले जम्मा गरेका छन्।
नेपाल–चीन सीमा क्षेत्रबाट बग्ने भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले ठूलो धनजनको क्षति पुर्याएपछि सरकारले तत्काल मन्त्रिपरिषद् बैठकमार्फत प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि सरकारको आह्वानमा व्यक्ति, निजी क्षेत्र तथा विभिन्न संस्थाहरूले सहयोग रकम जम्मा गर्न थालेका हुन्।
सरकारले राहत कोषमा रकम संकलन तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहेका छन्। व्यक्तिगततर्फको नगद सहयोग भने दाताहरूले मन्त्रालयमै पुगेर प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।
नयाँ सहयोग थपिएसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको कुल बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत रहेको थियो।
यसैबीच, बिहीबार मात्रै करिब ६ घण्टाको अवधिमा निजी क्षेत्रका दाताहरूबाट मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उक्त रकममा विभिन्न मित्रराष्ट्रहरूले घोषणा गरेका सहयोग भने समावेश गरिएको छैन।
विपद्को पीडामा सरकारको आह्वानसँगै छोटो समयमै ठूलो रकम जुट्नुले संकटको घडीमा नेपाली समाज, निजी क्षेत्र र दाताहरूको मानवीय एकताको बलियो सन्देश दिएको छ।


