१० भदौ २०८३, बुधबार | August 26, 2026

‘विपत्तिमा फुटेर होइन, जुटेर अघि बढौँ’– विश्लेषक रायमाझी


August 26, 2026
0
Shares

काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिको यस घडीमा सबै नेपाली एकजुट भएर सहयोगमा जुट्नुपर्ने बताएका छन्।

रायमाझीले अकल्पनीय विपत्तिका कारण भएको जनधन तथा भौतिक क्षतिको कल्पना गर्नसमेत कठिन भएको उल्लेख गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो संवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समेत समवेदना व्यक्त गरेका छन्।

‘मन दुखेको मात्रै छैन, पीडाले आक्रान्त छ। देश शोकाकुल छ,’ रायमाझीले भनेका छन्।

यस्तो दुःखद घडीमा भगवान् पशुपतिनाथले पीडित परिवार तथा प्रभावित नागरिकलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै उनले प्रार्थना गरेका छन्।

रायमाझीले विपत्तिको सामना गर्न सरकारको प्रयाससँगै प्रत्येक नागरिकको पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्। उनले भनेका छन्, ‘हामी एक छौँ। विपतमा फुटेर होइन, जुटेर हरेक क्षेत्रबाट यो हृदयविदारक परिस्थितिलाई सम्हाल्नुपर्छ। देश हाम्रै हो, परिवार हाम्रै हुन्।’

उनले विपत्तिमा कोही पनि पराइ नरहेको भन्दै मन, वचन र कर्मले निःस्वार्थ सेवा तथा सहयोगमा जुट्न आह्वान गरेका छन्।

रायमाझीले विपद्का बेला परोपकारलाई पुण्य कार्यका रूपमा अघि बढाउँदै सक्दो सहयोग गर्न र पीडितको साथमा उभिन सबैलाई आग्रह गरेका छन्।

‘हामी कोही पराइ होइनौँ। मन, वचन र कर्मले निःस्वार्थ सेवा गरौँ, सहयोग गरौँ। परोपकार र पुण्य कार्यमा मुठी खोलौँ,’ उनले अपिल गरेका छन्।

प्रतिक्रिया