१० भदौ २०८३, बुधबार | August 26, 2026

ट्राफिक प्रहरीमाथिको आक्रमण : ‘दण्ड मात्रै होइन, समाजको मनोविज्ञान पनि बुझ्नुपर्छ’


August 26, 2026
0
Shares

काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले महिला ट्राफिक प्रहरीमाथि भएको आक्रमणलाई नेपाली समाजमा बढ्दै गएको असहिष्णुता, अराजकता र हिंसात्मक प्रवृत्तिको पछिल्लो उदाहरणका रूपमा टिप्पणी गरेका छन्।

रायमाझीले शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा घाम–पानी नभनी खटिने प्रहरीमाथि भएको आक्रमण निन्दनीय रहेको बताएका छन्। तर, घटनामा संलग्न व्यक्तिलाई दण्डित गर्ने विषयसँगै उनको मानसिक अवस्था, सामाजिक परिवेश र तनावका कारणबारे पनि राज्यले गम्भीर अध्ययन गर्नुपर्ने उनको धारणा छ।

उनका अनुसार पछिल्लो समय युवामा बढ्दो आक्रोश, छिटो रिसाउने प्रवृत्ति, उच्छृंखल व्यवहार, मानसिक तनाव, डिप्रेसन, बेरोजगारी तथा सामाजिक फ्रस्ट्रेसनले हिंसात्मक व्यवहारलाई बढावा दिन सक्ने भएकाले त्यसको कारण पहिचान गर्न आवश्यक छ।

‘कडा दण्डको आवाज उठाइरहँदा नागरिकको स्वास्थ्य अवस्था, तनाव, डिप्रेसन र बेरोजगारीबाट उत्पन्न फ्रस्ट्रेसनबारे पनि सोच्नुपर्छ,’ रायमाझीले भनेका छन्।

उनले युवाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण र आवश्यक परे काउन्सिलिङको व्यवस्था गर्ने जिम्मेवारी पनि राज्यकै भएको बताएका छन्। बर्दी लगाउने प्रहरी हुन् वा सर्वसाधारण, सबैका आ–आफ्ना मानसिक पीडा र तनाव हुनसक्ने भन्दै उनले त्यसको उपचार र व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

रायमाझीका अनुसार हिंसा र अपराध बढ्नुमा मानसिक तनाव, डिप्रेसन, फ्रस्ट्रेसनलगायत विभिन्न सामाजिक तथा मनोवैज्ञानिक कारण हुन सक्छन्। त्यसैले समाजको मनोविज्ञान नबुझी केवल कारबाही र दण्डबाट मात्रै अनुशासन तथा सामाजिक संस्कारको विकास गर्न नसकिने उनको तर्क छ।

‘अपराधको जड दण्ड–सजायबाट मात्रै निराकरण हुन सक्दैन। राज्यले यस विषयलाई बुझ्न ढिला गर्नु हुँदैन,’ उनले लेखेका छन्।

अन्त्यमा रायमाझीले नागरिकको मानसिक स्वास्थ्य, सामाजिक तनाव र अपराधको मनोवैज्ञानिक कारण पहिचान गर्दै राज्यले दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया