१० भदौ २०८३, बुधबार | August 26, 2026

तिब्बतबाट एक्कासि पस्यो भीषण बाढी, त्रिशूली–भोटेकोशी आसपास उच्च सतर्कता


August 26, 2026
0
Shares

काठमाडौं । चीनको तिब्बततर्फबाट एक्कासि ठूलो बाढी भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि नेपालका नदी तटीय क्षेत्रमा त्रास बढेको छ। जल तथा मौसम विज्ञान विभागले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार भदौ १० गते बिहान करिब ९ बजे तिब्बततर्फबाट भोटेकोशी नदीमा असामान्य रूपमा ठूलो पानीको बहाव प्रवेश गरेको हो। बाढी रसुवा हुँदै नुवाकोटको विदुरभन्दा तलसम्म पुगिसकेको र माथिल्लो क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक सूचना प्राप्त भएको उनले बताए।

मुग्लिनसम्म बाढी पुग्न सक्ने, ४–५ घण्टा निर्णायक

विभागले त्रिशूली नदी र मर्स्याङ्दीको दोभान मुग्लिनसम्मको क्षेत्रलाई अति उच्च जोखिममा राखेको छ। बाढी मुग्लिनसम्म पुग्न करिब ४ देखि ५ घण्टा लाग्न सक्ने अनुमान गरिएको भन्दै आज बेलुकीसम्म विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यसैबीच पृथ्वी राजमार्ग तथा त्रिशूली नदी किनार हुँदै जाने अन्य कोरिडोर राजमार्गमा आवागमन नगर्न र सम्भव भएसम्म यातायात बन्द गर्न सुझाव दिइएको छ।

नदी किनारका बस्ती तत्काल खाली गर्न आग्रह

बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा रहेका बस्ती, घर तथा कृषि क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित र उचाइ भएको स्थानमा सर्न आग्रह गरिएको छ।

त्रिशूलीमा पानीको सतह बढेसँगै तादी, बूढीगण्डकी र मलेखु लगायतका सहायक नदीमा समेत पानीको बहाव फर्किन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ।

वर्षाले होइन, हिमताल विस्फोटको आशङ्का

सबैभन्दा चिन्ताजनक पक्ष के छ भने यो बाढी लगातारको वर्षाका कारण आएको नभई तिब्बततर्फबाट अचानक प्रवेश गरेको देखिएको विभागको भनाइ छ। त्यसैले तिब्बतमा हिमताल विस्फोट ९न्ीइँ० भएको हुनसक्ने आशङ्का गरिएको छ।

यस विषयमा चिनियाँ अधिकारीहरूसँग समन्वय भइरहेको तथा उपग्रहबाट समेत अवस्थाको अध्ययन भइरहेको बाढी पूर्वानुमान शाखाका प्रमुख पराजुलीले जानकारी दिएका छन्।

बाढीको बहाव तीव्र रूपमा तलतर्फ आइरहेकाले नदी किनारमा रहेका नागरिकलाई जोखिम नलिन र सूचना पाउनेबित्तिकै सुरक्षित स्थानमा जान विभागले विशेष आग्रह गरेको छ।

प्रतिक्रिया