७ भदौ २०८३, आइतबार | August 23, 2026

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या : सौतेनी आमा पक्राउ


August 23, 2026
0
Shares

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिका खुशी खातुनको हत्या भएको घटनामा प्रहरीले उनकी सौतेनी आमालाई पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको हत्या उनकी सौतेनी आमा १९ वर्षीया मुस्कान खातुनले गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीले घटनामा मुस्कानको मात्रै संलग्नता देखिएको जनाएको छ।

प्रहरीका अनुसार मोहम्मद इरफानकी छोरी खुशी आइतबार बिहान घरबाट अचानक हराएकी थिइन्। बालिका हराएको सूचना पाएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो। करिब दुई घण्टापछि घरपछाडिको झाडीमा उनको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रूपक खड्काका अनुसार बालिकाको शवमा बाहिरी घाउचोट देखिएको छैन। घटनाको वास्तविक कारण र मृत्युको प्रकृति यकिन गर्न शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ।

मृतकका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका क्रममा कतारमा रहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार इरफानकी जेठी र कान्छी पत्नीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो। शनिबार पनि उनीहरूबीच झगडा भएको स्थानीयको भनाइ छ।

विशेषगरी पारिवारिक सम्पत्ति तथा हकभोगको विषयलाई लिएर उनीहरूबीच विवाद हुने गरेको बताइएको छ। पुख्र्यौली घरमा इरफानकी जेठी पत्नी र छोरी खुशी बस्दै आएका थिए भने कान्छी पत्नी मुस्कान नजिकै डेरा लिएर बस्दै आएकी थिइन्।

बालिकाको हत्या भएको खबर फैलिएपछि स्थानीय आक्रोशित बनेका थिए। घटनाको विरोधमा आइतबार दिउँसो केही समय रुपनी बजार बन्द गराउँदै स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका थिए। प्रदर्शनका कारण राजमार्गमा समेत केहीबेर अवरोध भएको थियो।

प्रहरीका अनुसार अहिले रुपनी बजार र राजमार्गको अवरोध हटिसकेको छ। पक्राउ परेकी मुस्कानमाथि थप अनुसन्धान भइरहेको छ भने घटनाको कारण र अन्य पक्षबारे अनुसन्धान जारी रहेको एसपी खड्काले बताएका छन्।

प्रतिक्रिया