३ भदौ २०८३, बुधबार | August 19, 2026

१० भन्दा बढी बैठकमा अनुपस्थित सांसद देउवा पदमुक्त


August 18, 2026
913
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।

लगातार १० भन्दा बढी प्रदेशसभा बैठकमा बिना सूचना अनुपस्थित रहेको आधारमा प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेसँगै देउवाको प्रदेशसभा सदस्य पद रिक्त भएको हो।

प्रदेशसभाको आगामी बैठकमा सभामुख भण्डारीले देउवाको पद रिक्त भएको औपचारिक जानकारी गराउने तयारी छ।

देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए। त्यसक्रममा स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्रामका लागि उनी अमेरिकामै बसेका थिए। अमेरिका गएको करिब ११ महिना बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन्।

छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले चैत २३ गते प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी गराएका थिए।

सभामुखलाई सम्बोधन गरी पठाइएको पत्रमा उनले व्यक्तिगत कामका सिलसिलामा अमेरिका पुगेपछि स्वास्थ्य समस्या देखिएको र चिकित्सकको सल्लाहअनुसार उपचार तथा आराम गर्नुपरेको उल्लेख गरेका थिए। स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धतासमेत उनले जनाएका थिए।

तर, लामो समयसम्म प्रदेशसभा बैठकमा उपस्थित हुन नसकेपछि उनको सदस्यता नै रिक्त हुने अवस्था आएको हो। लगातार बैठकमा अनुपस्थित रहने विषयलाई लिएर प्रदेशसभा सचिवालयले प्रक्रिया अघि बढाएपछि सभामुखले टिप्पणी आदेश सदर गरेका हुन्।

यससँगै लामो समयदेखि अमेरिकामा रहेका देउवाको प्रदेशसभा सदस्यको राजनीतिक यात्रा औपचारिक रूपमा टुंगिएको छ।

प्रतिक्रिया