१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

विद्यालयभित्र शिक्षिकाको रहस्यमय मृत्यु, श्रीमान् फरार, बाहिरबाट ताला


581
Shares

झापा । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनभित्र एक शिक्षिकाको शव फेला परेपछि घटनाले सनसनी मच्चाएको छ।

मृतक सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना हुन्। उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरमै रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। दुवै वैशाख महिनादेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए।

घटनालाई थप रहस्यमय बनाउने तथ्य भनेको कोठामा बाहिरबाट ताला लागेको अवस्था र श्रीमान् सम्पर्कविहीन हुनु हो ।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार विद्यालय बिदापछि सोमबार सञ्चालन हुँदा दुवै शिक्षक सम्पर्कमा आएनन्।

फोनसमेत नउठेपछि खोजी गर्ने क्रममा साँझ करिब ४:३० बजे रतन गुप्ताले ह्वाट्सएपमार्फत सन्देश पठाउँदै श्रीमती झुन्डिएको अवस्थामा भेटिएको, आफूले शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन आग्रह गरेका थिए।

उता स्थानीयवासीले भने आइतबार साँझ गुप्तालाई दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखेको बताएका छन्। त्यसयता उनी सम्पर्कविहीन छन्।

जिल्ला प्रहरी कार्यालय झापाले घटनाको मृत्युको कारण अझै खुलिनसकेको जनाएको छ। शव परीक्षणसहित सबै कोणबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ भने फरार रहेका श्रीमान् रतन गुप्ताको खोजी तीव्र पारिएको छ।

 

प्रतिक्रिया