२ असार २०८३, मंगलबार | June 16, 2026

स्पेनलाई रोक्ने ‘हिरो’ बने केप भर्डेका गोलकिपर भोजिन्हा


0
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ मा सानो टापु राष्ट्र केप भर्डेका अनुभवी गोलकिपर जोसिमार डियास ‘भोजिन्हा’ रातारात विश्व फुटबलका नयाँ स्टार बनेका छन्।

विश्वकपको आफ्नो पहिलो खेलमै केप भर्डेले उपाधि दाबेदार स्पेनलाई ०–० को बराबरीमा रोक्दै ऐतिहासिक एक अंक बटुल्यो, र त्यसको केन्द्रमा थिए ४० वर्षीय गोलकिपर भोजिन्हा।

स्पेनले खेलभर केप भर्डेमाथि एकतर्फी दबाब बनायो। २७ वटा प्रहार गर्‍यो, जसमध्ये ७ वटा गोलपोस्टभित्र थिए। तर प्रत्येक अवसरमा भोजिन्हा विशाल पर्खालझैँ उभिए। उनले एकपछि अर्को उत्कृष्ट बचाउ गर्दै स्पेनका स्टार खेलाडीहरूलाई निराश बनाए।

उनको अद्भुत प्रदर्शनकै कारण केप भर्डेले विश्वकप इतिहासको पहिलो खेलमै पहिलो अंक जोड्न सफल भयो। खेलपछि उनलाई ‘म्यान अफ द म्याच’ घोषित गरियो।

तर मैदानभित्रको प्रदर्शन मात्र होइन, मैदानबाहिर पनि भोजिन्हाले इतिहास रचे।

खेलअघि इन्स्टाग्राममा करिब ४५ हजार फलोअर्स भएका उनको लोकप्रियता केही घण्टामै विस्फोटक रूपमा बढ्यो। पहिले २।७ मिलियन र त्यसपछि यो समाचार तयार पार्दासम्म उनको फलोअर्स संख्या ५।१ मिलियन नाघिसकेको छ। विश्वभरका फुटबल समर्थकहरू अहिले उनलाई ‘विश्वकपको नयाँ नायक’ भन्दै पछ्याइरहेका छन्।

अचानक प्राप्त भएको यो विश्वव्यापी चर्चाबारे प्रतिक्रिया माग्दा भोजिन्हाले केवल एक शब्द भने—“क्रेजी१”

केप भर्डेजस्तो सानो राष्ट्रका लागि यो बराबरी जितसरह बनेको छ। तर विश्वकप उपाधिको बलियो दाबेदार मानिएको स्पेनका लागि भने यो नतिजा ठूलो झट्का र चेतावनीका रूपमा आएको छ।

विश्वकप २०२६ ले फेरि एकपटक प्रमाणित गरेको छ—फुटबलमा नाम, इतिहास र शक्ति मात्र पर्याप्त हुँदैन। कहिलेकाहीँ एउटा प्रेरणादायी प्रदर्शनले रातारात नयाँ नायक जन्माइदिन्छ, र यसपटक त्यो नाम हो—जोसिमार डियास ‘भोजिन्हा’।

प्रतिक्रिया