कसले दियो खुस्बु ओलीलाई बलात्कार गर्ने र मार्ने धम्की ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले संसदको रोस्ट्रमबाटै आफूलाई ज्यान मार्ने र बलात्कारसम्मको धम्की आएको खुलासा गर्दै सनसनी मच्चाएकी छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले केही दिनअघि आफूले नेपाललाई सनातनी राज्य बनाउनुपर्ने पक्षमा आवाज उठाएपछि सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण भइरहेको दाबी गरिन्। उनले आफू कुनै धर्मको विरोधमा नभई धर्मान्तरणको विरोधमा बोलेको स्पष्ट पार्दै प्रश्न गरिन्—‘के धर्मनिरपेक्षताको नाममा सनातनको पक्षमा बोल्न पनि नपाइने हो ?’
ओलीको भनाइ थियो, “मैले ९० प्रतिशतभन्दा बढी सनातनी आस्थावान रहेको देशमा सनातनी राज्यको पक्षमा आवाज उठाएँ। धर्मान्तरणको विरुद्ध बोलेँ। तर त्यसको बदलामा मलाई हत्या र बलात्कारसम्मको धम्की आइरहेको छ।”
उनले आफू व्यक्तिगत रूपमा यस्ता धम्कीसँग डराएर पछाडि नहट्ने चेतावनी दिँदै यो हमला आफूविरुद्ध मात्र नभई सनातन धर्ममाथिको आक्रमण भएको दाबी गरिन्।
“म यी धम्कीहरू सहन सक्छु, तर यो केवल खुस्बु ओलीमाथिको हमला होइन, सनातन धर्ममाथिको प्रहार हो,” उनले संसदमा भनिन्।
ओलीको अभिव्यक्तिपछि संसदभित्र धर्म, धर्मनिरपेक्षता र अभिव्यक्ति स्वतन्त्रताको बहस फेरि तातेको छ। राप्रपाले लामो समयदेखि नेपाललाई हिन्दु राष्ट्र तथा सनातनी राज्य घोषणा गर्नुपर्ने माग उठाउँदै आएको छ भने ओलीको पछिल्लो आरोपले यो मुद्दालाई थप राजनीतिक रंग दिएको छ।

