१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता त्याग्न आह्वान


332
Shares

काठमाडौं । सरकारले सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित, लक्षित र प्रभावकारी बनाउने उद्देश्यसहित आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न प्रोत्साहित गर्ने नयाँ राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले सामाजिक सुरक्षाको लाभ वास्तवमै आवश्यक पर्ने वर्गसम्म पुर्‍याउन ‘छोडौं, नसक्नेलाई जोडौं’ अभियान सञ्चालन गरिने घोषणा गरेका हुन्।

अर्थमन्त्री वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै भने, “आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौं।”

सरकारको भनाइमा सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायसंगत बनाउँदै राज्यको स्रोतसाधन वास्तविक रूपमा आवश्यकता भएका नागरिकतर्फ केन्द्रित गर्ने उद्देश्यले यो अभियान अघि सारिएको हो।

भत्ता वृद्धि भएन

यस वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ताको रकम भने यथावत् राखिएको छ। सरकारले वृद्धभत्ता, एकल महिला, अपांगता, दलित बालबालिका लगायत विभिन्न शीर्षकमा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तामा कुनै वृद्धि नगरेको हो।

यसले एकातर्फ सामाजिक सुरक्षा खर्चलाई नियन्त्रणमा राख्ने सरकारको प्रयास देखिएको छ भने अर्कोतर्फ बढ्दो महँगीका बीच भत्ता वृद्धि नभएको विषयमा बहस हुने संकेत पनि देखिएको छ।

लक्षित वितरणमा जोड

सरकारले आगामी दिनमा सामाजिक सुरक्षा कार्यक्रमलाई अझ लक्षित र प्रभावकारी बनाउने नीति लिएको छ। सक्षम व्यक्तिहरूले स्वेच्छिक रूपमा भत्ता त्यागेमा सीमित स्रोतलाई गरिब, असहाय, ज्येष्ठ नागरिक तथा राज्यको सहयोगमा निर्भर समुदायसम्म पुर्‍याउन सहज हुने सरकारको अपेक्षा छ।

नयाँ अभियान सफल भए सामाजिक सुरक्षा प्रणालीमा पारदर्शिता र लक्षित वितरणको अभ्यास बलियो बन्ने विश्वास सरकारको छ। तर आर्थिक रूपमा सक्षम लाभग्राहीहरूले कत्तिको उत्साहका साथ भत्ता त्याग्छन् भन्ने कुराले अभियानको सफलता निर्धारण गर्नेछ।

प्रतिक्रिया